शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
झापा । २०७८ असोज ६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरिरहेको “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा असोज ५ गते अर्जुनधारा नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक प्रदेश १, कार्यालय विराटनगरको आयोजना तथा नगरपलिकास्तरीय मानवअधिकार समूह अर्जुनधाराको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा मानव अधिकार समूह अर्जुनधाराले नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा भएका समस्या पहिचान गरी अर्जुनधारा नगरपालिका का प्रमुख हिराकुमार राना समक्ष ३५ बुँदा समेटिएको कार्यपत्र प्रस्तुत गरेको छ । समूहका अध्यक्ष चन्द्र सुवेदीले प्रस्तुत गरेको कार्यपत्रमा शिक्षातर्फ १३ ओटा, स्वास्थ्यतर्फ नौ ओटा, खाद्यतर्फ १० ओटा र आवासतर्फ तीन ओटा समस्या र सुझावसहितको बुँदा उल्लेख गर्दै समाधानका नगरपालिकालाई आग्रह गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले कार्यपत्रमा उल्लेख भएका समस्याहरूलाई समाधान गर्न सके आफैँले गर्ने र नसकेको गराउन पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौँलागाईंले कार्यपत्रमा उल्लेख भएका सुझावका बुँदाहरूलाई नगरपालिकाले आफ्नो आगामी कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
नरेश खाती