शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

सिरहा । २०७८ फागुन ११ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र विष्णुपुर गाउँपालिकाको सहकार्यमा स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन १० गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रमा विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष अरहुलादेवी सिहंले इन्सेकले अनुगमन गरी दिएको सुझाव सकारात्मक भएको बताउँदै स्रोत र साधन अनुसार शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई हल गर्दै लैजाने बताउनु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले समुदायमै पुगेर इन्सेकले काम गरिरहेको हुनाले सेवा प्रदायक र सेवाग्राहीबिच भेट गराएर समस्याको पहिचान तथा समाधानको खोजी गर्ने गरेको बताउनु भयो । संविधानको मौलिक हकमै व्यवस्था भए अनुसार गुण्स्तरीय शिक्षा, सुविधा सम्पन्न अस्पताल, खाद्य र आवासको उचित व्यवस्था स्थानीय तहले गर्नु पर्ने बताउनु भयो । यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र महतले इन्सेकले उठाएका धेरै विषयहरू सकारात्मक रहेको बताउँदै सेवाको गुणस्तरका लागि खबरदारी गरिरहन आग्रह गर्नु भयो ।

दुर्गा परियार