शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी सूचक बनाएर अनुगमन गर्नुपर्नेमा जोड

कपिलवस्तु । २०७८ फागुन १६ गते

शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी सूचक बनाएर अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूहको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको  विषयमा  फागुन १५ गते आयाजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले उक्त कुरा बताएका हुन् । पन्थीले सहभागिहरूको गुनासाहरूलाई सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा देखिएका समस्याहरुलाई समाधान गर्न लागि पर्ने बताउनु भयो ।

स्वास्थ्य चौकीहरूमा प्रेसर, सुगरको चेकजाचँ तथा औषधि निःशुल्क गराउनु पर्ने, सरकारी विद्यालयहरूले  शुल्क लिने गरेको, निःशुल्क बितरण गरिने सेनेटरी प्याड गुणस्तरीय नभएको लगायतका समस्या रहेको सहभागिहरूले बताएका थिए । शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले शिक्षाको अवस्थाको विषयमा नगरपालिकाले गरेका काम तथा योजनाका बारेमा जानकारी गराउदै नागरिकहरूबाट आएका सुझावलाई समेट्ने प्रतिबद्धता जनाउनु भयो । स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले स्वास्थ्यको क्षेत्रमा गुनासा नआउने गरि काम गरेको बताउनु भयो । पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले खुला सिमानाको कारण छाडा चौपाया नियन्तरण गर्न समस्या भएको बताउनु भयो । कृषि शाखा प्रमुख लेषबहादुर केसीले किसानहरूले बिउ, मल, बिषादी खरिद गर्दा एग्रोभेट बाट खरिद गर्न आग्रह गर्नु भयो ।

पार्वती आचार्य