शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धमा सार्वजनिक सुनुवाइ सम्पन्न

जाजरकोट । २०७८ फागुन २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले छेडागाड नगरपालिकामा फागुन १८ गते सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका खाद्य, शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिका अधिकारको विषयमा सरोकारवालाहरूसँग नगरपालिकाको सभाहलमा सार्वजनिक सुनवाई गरेको हो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत गङ्गबहादुर रोकायले नगरपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनु भयो । उहाँले भन्नु भयो–‘नगरपालिका सबैको अभिभावक हो, हामीले वार्षिक कार्यक्रम तथा बजेटको पुस्तक निकालेका छौँ । सो अनुसार काम भए नभएको अनुगमन गर्नु होला ।’ ‘कुनै कर्मचारीले काम नगरेमा, बजेट कार्यन्वयन नगरेमा, तपाईहरूलाई समस्या सिर्जना गरेमा प्रमुख प्रसाशकीय अधिकृतलाई भन्नुस् । त्यहाँबाट पनि पार नलागेको अवस्थामा नपरपालिकाका नगर प्रमुखलाई भन्नुस् ।’–उहाँले भन्नु भयो । नगरपालिकाको कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका कार्यपालिका सदस्य बले सार्की र विषयगत शाखाका प्रमुखहरूले जवाफ दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य बीमा, कृषि, बिउबिजन, पशु बीमा, खानेपानी, लक्षित वर्गको कार्यक्रम र बजेट लगायतका विषयमा गुनासो राखेका थिए । कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य बले सार्कीले नगरपालिका अभिभावक भएकोले आफूले प्रवाह गरेको सेवाको बारेमा तपाईहरूका समस्या गुनासो निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गर्नु भयो । उहाँले नगरपालिकाले कृषि, भेटेरेनरी, स्वास्थ्य शिक्षा, महिला अधिकारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । कार्यक्रममा स्वास्थ्य शाखा, शिक्षा तथा खेलकुद शाखा, कृषि शाखा, महिला विकास शाखालगायतका विषयगत शाखाका प्रमुखहरूले आआफ्ना शाखा कार्यक्रमको बारेमा जानकारी दिँदै उठेको गुनासोहरूलाई आगामी दिनमा सम्बोधन गर्ने र कमजोरीहरू सच्याउने प्रतिबद्धता जनाएका थिए ।

दिनेशकुमार श्रेष्ठ