शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सार्वजनिक सुनुवाइ

सुनसरी । २०७८ चैत २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजना, भोक्राहा नरसिंह गाउँपालिकासहित विभिन्न विषयगत शाखा र भोक्राहा नरसिंह गाउँस्तरीय मानव अधिकार समूहको समन्वयमा शिक्षा,स्वास्थ्य,खाद्य र आवास अधिकारका सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम चैत २० गते चिरौलीमा सम्पन्न गरिएको छ । कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका–३ की दुलारी ठाकुरले शिक्षामा अझै पनि पहुँच स्थापित गर्नुपर्ने आवश्यकता औल्याउनु भयो । केही वडामा राजनीतिक र जातीय पहँुचका आधारमा विकास हुने गरेको ठाकुरले बताउनु भयो । सार्वजनिक सुनुवाइमा पवित्रादेवी यादवले गाउँमा विपन्न, पिछडिएका र लक्षित वर्गलाई आवश्यक भएका कार्यक्रम भन्दा पनि कर्मचारी र नेताले आफू नजिकका व्यक्तिहरूलाई तालिम गोष्ठीमा सहभागी गराउने गरेको बताउनु भयो । उहाँले शिक्षामा गुणस्तर तथा स्वास्थ्यमा नियमित औषधि तथा उपकरणको व्यवस्था गर्नु पर्ने माग गर्नु भयो । ललिता मेहताले महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, कृषि, पशु र ज्येष्ठ नागरिकका लागि समेत सशर्त बाहेकका गाउँपालिकामा कुनै विशेष खालको कार्यक्रम सञ्चालन नभएको गुनासो गर्नु भयो । जनता मावि शिवगञ्जमा कक्षा ९ मा अध्यनरत सुशिला मण्डलले विद्यालयमा खेलकुदका लागि पर्याप्त सामग्री र आवश्यक बजेटको समेत व्यवस्था गर्नुपर्ने माग गर्नु भयो । मानव अधिकार समूहकी अध्यक्ष ममता उराँवले शिक्षामा गुणस्तरसहित गाउँ र राजमार्ग क्षेत्रका बजार अनुगमन र मूल्य निर्धारण गर्नुपर्नेमा जोड दिनु भयो । स्थानीय मनोज कुमार मेहताले सुकुम्बासीहरूको लागि आवासको व्यवस्था गर्नुपर्ने र भूमिहीनहरूको फारम भर्ने कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । भोक्राहा नरसिंह गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आलम अञ्सारीले पालिकाले स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्ने गरी काम गरेको बताउनु भयो ।

साविकको दुई ओटा स्वास्थ्य संस्थालाई पालिकाका ८ ओटै वडामा विस्तार गरेको, अस्पतालका लागि प्रकृया अगाडि बढेको बताउनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनमकुमारी मेहताले गाउँका नागरिकहरू आफ्नो अधिकारका लागि सचेत भएर अगाडि बढ्नुपर्ने बताउन ुभयो । उहाँले गाउँमा आफूहरूको कार्यकालमा निकै परिवर्तन भएको र विकासको अनुभूति नागरिकले गर्न पाएको दावी गर्नु भयो ।  उपाध्यक्ष यादवले सीमित स्रोत साधनका बीचमा असल कामहरू र कार्यक्रमहरू विद्यालयको स्तोरोन्नती, स्वास्थ्य संस्था प्रसूति गृहसञ्चालन, २ सय ९० परिवारलाई आवास कार्यक्रम अन्तरगत घरको व्यवस्था, सहकारीमार्फत मल विउँ वितरण, अनुदानमा मल विउँ वितरण , कृषिमा लागेका किसानलाई प्रोत्साहन कार्यक्रम गरेको बताउनु भयो । गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले लक्षित समूह पछाडि पर्ने गरेको सत्य भएको बताउँदै उहाँले आफूहरूले छानबिन गरेर मात्रै सिफारिस दिने गरेको बताउनु भयो । उहाँले कार्यक्रमका उठेका विषयहरूलाई गम्भीरताका साथपालिकाको कार्यपालिका बैठकमा पेश गर्ने बताउनु भयो । यादवले विकासका कामबाट नागरिकहरू खुसी भएको बताउनु भएको छ ।

जयकृष्ण यादव