शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा टेलिभिजन सम्वाद सम्पन्न

मोरङ । २०७८ चैत २४ गते

इन्सेकद्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत रङ्गेली नगरपालिकामा चैत २३ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा टेलिभिजन सम्वाद तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । रङ्गेली नगरपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सञ्चालित कार्यक्रम अन्तरगत इन्सेक र मानव अधिकार समूह रङ्गेलीको आयोजनामा टेलिभिजन सम्वाद कार्यक्रम सम्पन्न गरिएको हो । स्थानीय तहलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सजग बनाउने तथा स्थानीय तहले संविधान प्रदत्त मौलिक हक कार्यान्वयनका लागि गरेका प्रयासहरूलाई सर्वसाधारण पुर्‍याउने उद्देश्यले टेलिभिजन सम्वाद कार्यक्रमको आयोजना गरिएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताउनु भयो । कार्यक्रममा नगरपालिकाका सम्बन्धित शाखा प्रमुखहरूले नगरपालिकाले ५ वर्षको अवधिमा  जनताको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सुनिश्चित गर्न गरेका कामहरूबारे जानकारी दिएका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्री जयराम यादवले रंगेली अस्पतालका  लागि आवश्यक डाक्टर र कर्मचारीको व्यवस्था गर्न  पहल गर्ने बताउनु भयो । उहाँले रङ्गेलीका जनताले रङ्गेली अस्पताल अनुगमनमा नआएको गुनासो सही भएको भन्दै आफ्नो अधिकारको क्षेत्र नभएकाले अस्पतालको अनुगमनमा नआएको स्पष्ट पार्नुभयो । स्वास्थ्य मन्त्री यादवले भन्नुभयो ‘ हाम्रा लागि सबै अस्पताल समान भएपनि  कानुनी रूपमा रङ्गेली अस्पताल स्थानीय तह मातहतको अस्पताल भएकाले प्रदेशको मन्त्रीले अनुगमन गर्नुको औचित्य हुँदैन ।’ मन्त्री यादवले शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार मौलिक अधिकारहरू पनि भएकाले जनताका यी अधिकार सुनिश्चित गर्न सरकार सँधै प्रयासरत रहेको बताउनु भयो ।

 

सार्वजनिक सुनुवाइ कार्यक्रममा रङ्गेली नगरपालिकाका मेयर दिलीप बगडियाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न नगरपालिका एक्लैले नसक्ने भएकाले शिक्षक अभिभावकसमेत जागरूक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले नगरका सबै विद्यालयको  शैक्षिक गुणस्तर सुधार गर्न योजनाबद्ध रूपमा प्रयासहरू गरिरहेको बताउनुभयो । मेयर बगडियाले भन्नुभयो,शैक्षिक गुणस्तर, विद्यालयको भौतिक पूर्वाधार सुधारलगायतका काम गर्न स्थानीय अभिभावकको सहयोगको जरूरी छ । उहाँले भन्नुभयो, शैक्षिक गुणस्तर कायम भएन भन्ने तर, विद्यालयका कम्प्युटर चोर्ने, विद्यालयमा गरिएका वाइङिका तारहरू चोर्ने विद्यालयका तोडफोड गर्ने जस्ता गतिविधिले विद्यालयको  अवस्थामा सुधार आउँदैन ।’ मेयरले नगरका सबै स्वास्थ्य संस्थाको पूर्वाधार सुधारमा नगरपालिकाले ध्यान केन्द्रित गरेको जानकारी दिनु भयो । उहाँले रङ्गेलीको एकमात्र अस्पतालबाट सहज रुपमा सेवा उपलब्ध गराउन नगरपालिका प्रयत्नशील रहेको र नगरपालिकाले  धेरै लगानी पनि गरेको बताउनुभयो । उहाँले रङ्गेली अस्पतालमा डाक्टर, नर्सलगायतका प्राविधिक कर्मचारीहरूको अभाव रहेकाले अस्पतालका लागि आवश्यक उपकरण, र जनशक्ति उपलब्ध गराइदिन प्रदेश र सङ्घीय सरकारसँग आग्रह गर्नुभयो । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख रविन्द्र पण्डित, स्वास्थ्य शाखा प्रमुख प्रवेश मेहेता, कृषि शाखा प्रमुख वीरेन्द्र मण्डल, पशु शाखा प्रमुख दीपक खतिवडा र योजना शाखा प्रमुख कृष्ण भट्टराईले नगरपालिकाले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सुनिश्चित गर्नका लागि नगरमा सञ्चालन गरेका कर्याक्रमहरू र प्रयासहरूबारे जानकारी गराएका थिए । कार्यक्रममा स्थानीय प्रवेश पन्नालाल मेहेता, कैलाशप्रसाद मण्डल, रामकुमार सरदार लगायतले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सुनिश्चित नभएको विषयमा प्रदेशका स्वास्थ्य मन्त्री र नगरापलिकाका प्रमुख तथा उपप्रमुखलाई विभिन्न प्रश्न गर्नु भएको थियो । कार्यक्रममा रङ्गेली नगरपालिकाका स्थानीले नगर, प्रमुख, उपप्रमुख र प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवलाई स्वास्थ्य, शिक्षा र खाद्य अधिकारका विषयमा विभिन्न जिज्ञासाहरू राखेको थिए । इन्सेकले विगत ३ वर्ष देखि रङ्गेली नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा बहस तथा पैरवी गर्दै आएको छ ।

विनोद सुवेदी