शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक सार्बजनिक सुनुवाइ सम्पन्न
दाङ । २०७८ चैत २५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह घोराहीको सहकार्यमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक सार्बजनिक सुनुवाइ कार्यक्रम चैत २५ गते घोराहीमा सम्पन्न भएको छ । कार्यक्रममा घोराही उप–महानगरपालिकाका मेयर नरूलाल चौधरीले आफ्नो कार्यकालमा समग्र मानव अधिकारका पक्षमा काम गरेको उल्लेख गर्दै उप–महानगरका १९ वटै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याएको, किसानलाई ५० प्रतिशत अनुदानमा गहु, मकै, धानको विउ उपलव्ध गराएको, समग्र बाल अधिकारको पक्षमा काम गर्दै उप–महानगरलाईनै देशकै पहिलो बालमैत्री उप–महानगर घोषणा गरिएको, आठ वटा वर्थिङ सेन्टर स्थापना गरिएको र अझै एक वडा एक कृषि प्राविधिकका लागि पहल भइरहेको बताउनु भयो ।
कार्यक्रममा मुक्त कम्लहरी विकास मञ्चकी ज्ञानु थापाले सहभागीहरूले गुणस्तरीय तथा निःशुल्क शिक्षाका लागि विषयगत शिक्षकको व्यवस्थापन, विपन्न छात्रछात्रालाई छात्रवृत्ति, स्वच्छ खानेपानी, दिवा खाजाको व्यवस्थापन गरिनु पर्ने, आधारभूत निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्नु पर्ने बताउनु भयो । पत्रकार विकिरण गौतमले उन्नत विँउ तथा मलको व्यस्थापन, कृषिजन्य वस्तुको बजारिकरण, कृषि प्राविधिकको व्यवस्थापन, भूमिहीनलाई एक पटकका लागि जमिनको व्यवस्था र खरको छाना हटाउनु पर्ने लगायतका सवालहरू उठाउनु भएको थियो ।
जयनारायण पुन