शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि मानव अधिकार निगरानी समूहको ध्यानाकर्षण
सल्यान । २०७७ असोज २१ गते
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्सेक सल्यानद्वारा बनगाड कुपिण्डे नगरपालिकामा गठित मानव अधिकार समूहले असोज १९ गते नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
समूहका अध्यक्ष तिलक नेपालीको नेतृत्वमा गएको टोलिले सबै विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको बैठक आयोजना गरि कार्ययोजना अघि बढाउनु पर्ने, र विद्यालय सञ्चालनका लागि विद्यमान समस्या पहिचान गरी समाधान खोजिनुपर्ने लगाएत ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
यस्तै ध्यानाकर्षण पत्रमा कोभिड–१९ रोकथाम तथा उपचारका लागि नपाक्षेत्र भित्रका विभिन्न विद्यालयमा बनाइएका आइसोलेसन र क्वारेण्टिन सञ्चालनमै रहेको कारण विद्यार्थीहरु शिक्षाबाट बञ्चित भएकाले वैकल्पीक व्यव्स्थापन गरी विद्यालय सञ्चालन गर्नुपर्ने कुरालाई जोड दिइएको छ ।
यसैगरी क्वारेण्टिन बनाइएका केहि विद्यायल खाली गरीएपनि कोरोनाको जोखिम कायमै रहेकाले सेनेटाइज गर्नुपर्ने र बजारमा म्याद गुज्रिएका खाद्य वस्तु विक्री वितरण भैरहेको तथा मुल्य सूची टाँस नगरेको गुनासो आएकोले मानव अधिकार समूह समेतको सहभागितामा तत्काल बजार अनुगमन गर्नुपर्ने कुरा पनि उल्लेख गरिएको अध्यक्ष नेपालीको भनाई छ ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मन्जु यरीले क्वारेण्टिन रहेका विद्यालयमा भएको भौतिक क्षति, जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा देखिएको उपकरण अभाव लगाएतका समस्या समाधानका लागि लागिरहेको बताउनुभयो ।
कार्यक्रमको सहजिकरण इन्सेकको इएलपी परियोजनाका सल्यान सहजकर्ता रामचन्द्र रेग्मीले गर्नु भएको थियो ।
मिना बुढाथोकी