समयमा नै सङ्क्रमणकालीन न्याय अन्त्य गर्नुपर्नेमा सरोकारवालाहरूको जोड
मोरङ । २०७८ भदौ १४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय, एडभोकेसी फोरम र ओरेकलगायतका सङ्घ संस्था तथा बेपत्ता पीडित परिवारहरूको सहभागितामा भदौ १४ गते विराटनगरमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको ११ औँ अन्तर्राष्ट्रिय दिवस संयुक्त रुपमा मनाइएको छ । कार्यक्रममा प्रदेश १ सरकारकी उपसभामुख सरस्वती पोखरेलले नेपाल सरकारले सङ्क्रमणकालनी न्याय अन्त्यका लागि विभिन्न प्रयासहरू गरेपनि त्यो अपुग भएको बताउनु भयो । उहाँले द्धन्द्धका समयमा राज्यपक्ष वा विद्रोही पक्षबाट मानव अधिकार उल्लङ्घनका घटनाका पीडित तथा परिवारजनलाई बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न आवश्यक रहेको बताउनु भयो । उपसभामुख पोखरेलले दिनप्रतिदिन द्धन्द्धपीडितहरूमा निराशा बढ्दै गएकाले समयमा नै पीडितहरूलाई न्याय दिलाउन नसके भविष्यमा अर्को सङ्कट आउन सक्ने बताउनु भयो ।
कार्यक्रममा इन्सेक प्रदेश १ संयोजक सोमराज थापाले सङ्क्रमणकालीन न्याय अन्त्यका लागि इन्सेकले निरन्तर खबरदारी गर्दै आएको बताउनु भयो । उहाँले नेपालमा जनयुद्दका समयमा इन्सेकले विद्रोही पक्ष र राज्यबिच मध्यस्थकर्ताको रूपमा रहेर मानव अधिकार रक्षाका लागि काम गरेको बताउनु भयो । कार्यक्रममा द्धन्द्धपीडित हरिमाया मगरले युद्दका समयमा पति राज्यपक्षबाट बेपत्ता भएको तर हालसम्म अवस्था सार्वजनिक नहुँदा सामाजिक रूपमा अपहेलित भएर बाँच्नु परेको गुनासो गर्नुभयो । उहाँले पति बेपत्ता भएको दशक वित्दा समेत राज्यले बेपत्ता पारिएका व्यक्तिहरूको विषयमा अवस्था सार्वजनिक नगर्दा पीडित झन् पीडित हुँदै गएको बताउनु भयो । पतिको अवस्था थाहा नहुँदा सिन्दुर पोते लगाएर हिँडेको भन्दै समाजमा आफूलाई खिसिटिउरी गरिदाँ सामाजिक रूपमा अपहेलित भएर बाँच्नु परेको पीडित मगरले दुखेको व्यक्त गर्नु भयो ।
कार्यक्रममा बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष रूपेश शाहले राज्यले बेपत्ता परिवारमाथि राज्यले उचित न्याय प्रदान गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले राज्यले द्धन्द्धपीडितलाई क्षतिपूर्ति स्वरूप १० लाख रुपियाँ दिँदा मृत्यु दर्ता अनिवार्य रूपमा लगाएर झुक्याएको आरोप लगाउनु भयो । कार्यक्रममा सहभागी द्धन्द्ध पीडितहरूले बेपत्ता व्यक्ति छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग बने पनि यसले वास्तविक द्धन्द्धपीडितलाई न्याय दिलाउन नसकेको बताएका छन् ।
नेत्रप्रसाद अधिकारी