समस्या पहिचान तथा सरोकारवाला पहिचान कार्यक्रम सम्पन्न

सुनसरी । २०७८ भदौ १५ गते

इन्सेक प्रदेश १ कार्यालय विराटनगर र मानव अधिकार समूह भोक्राहा नरसिंहको आयोजनामा भदौ १४ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक समस्या तथा सरोकारवाला पहिचान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा प्रशस्त समस्या रहेकाले ति समस्या समाधानका लागि सरोकारवालाहरूलाई जबाफदेही बनाउन आवश्यक रहेको निश्कर्ष निकालेका छन् । कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका–३ का विपिन यादवले खाद्य बालीमा विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परेको भन्दै त्यसको न्यूनीकरणका लागि सबै सचेत एवम् जागरूक हुन आवश्यक रहेको बताए । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३९ मा उपभोग्य वस्तुको गुणस्तरका लागि उत्पादन, भण्डारण तथा विक्रि वितरणलाई गुणस्तर र स्वस्थ्य बनाइने उल्लेख गरिएकाले पनि विषादीरहित उत्पादनका लागि जनस्वास्थ्य ऐन प्रभावकारी रूपमा कार्यान्वयनका लागि जिम्मेवार निकायलाई जबाफदेही बनाउन आवश्यक रहेको यादवले बताए ।

शिक्षक विनायकप्रसाद यादवले तरकारी तथा फलफूलमा विषादीको अत्यधिक प्रयोग हुने गरेका कारण मानव शरीरमा अल्पकालीन र दीर्घकालीन समस्याहरू उत्पन्न हुने भएकाले विषादीको प्रयोग न्यूनीकरणका लागि सचेतनामूलक अभियान चलाउन सुझाव दिनुभयो । कृषि प्राविधिकले सिफारिस गरेको भन्दा एग्रोभेटबाट आफूखुशी किसानले लैजाने विषादीले मानव स्वास्थ्यमा असर पुगेको भएपनि त्यस्ता एग्रोभेटको अनुगमन नहुँदा समस्या बढ्दै गएको भोक्राहा नरसिंह गाउँपालिका–३ का वडा सदस्य विन्देश्वर साहले बताउनु भयो । भोक्राहा नरसिंह गाउँपालिका–३ का वडा सचिव सोभानन्द साहले कृषि उत्पादन बढाउन सिञ्चाई, जैविक मल, स्थानीय जातको विउ प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । रामसीता आधारभूत विद्यालयका प्रधानाध्यापक बलरामकुमार यादवले शैक्षिक गुणस्तरसहित स्वास्थ्य सेवा नागरिकको पहुँचमा हुन आवश्यक रहेको बताउनु भयो । यादवले सरकारी निकायले विषादीको प्रयोग न्यूनीकरणका लागि जनचेतनासहित रोकथामको उपाय खोज्न आवश्यक रहेको बताउनु भयो ।

किसान जगनारायण यादवले किसानलाई अनुदान दिई विषादी प्रयोग कम गर्ने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । किसान कपिलेश्वर यादवले कृषि, शिक्षा, स्वास्थ्य , आवासको अधिकारको बारेमा टोलटोलमा जनचेतना जगाउन आवश्यक रहेको बताउनु भयो । भोक्राहा नरसिंह गाउँपालिका–३ का स्थानीय रामेश्वर खत्वेले विपन्न समुदायको शिक्षा र स्वास्थ्यमा पहुँच नभएको गुनासो गर्नु भयो । उहाँले शिक्षामा रहेको दुई धारलाई एक रूपता कायम गरी गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनु भयो । कार्यक्रम मानव अधिकार समूहकी अध्यक्ष ममता उराँवको अध्यक्षता सम्पन्न भएको थियो ।

जयकृष्ण यादव