समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निर्माणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

कास्की । २०७७ असोज २६ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनाका असोज २३ गते पोखरा महानगरपालिका–३२ मा समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विशेष गरी भूमि अधिकारका सवालमा बाढी तथा पहिरो पीडित परिवारसँग छलफल गरिएको थियो । कार्यक्रममा सोही वडा निवारी बाढी पीडित सञ्चोमाया मोक्तानले आफ्नो घर पूर्ण रुपमा क्षति भइ सुरक्षित अवस्थामा बस्ने स्थिति नरहेको गुनासो गर्नुभयो । उहाँले स्थानीय तहले तत्कालका लागि राहत प्रदान गरेतापनि दिर्घकालिन सहयोगको अपेक्षा राखेको बताउनुभयो । यसका साथै बाढीबाट पीडित रेलीमाया क्षेत्रीले विगत १० वर्ष देखी बस्दै आएको ठाउँमा वर्षेनी बाढीका कारण आफ्नो घर क्षति हुने गरेको गुनासो गर्नुभयो । उहाँले यसवर्ष अन्य वर्ष भन्दा बढी क्षति भएको बताउँदै सुरक्षित आवासको लागि पहल गरिदिन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि अक्कल बहादुर कार्कीले जनता आवास कार्यक्रम अन्तरगत बन्न लागेका घरहरुको लाभग्राही सङ्कलन गर्ने कार्य सुरु हुने तयारीमा रहेकाले उक्त कार्यक्रमको मापदण्डमा परेका पीडितहरुलाई समेटिने बताउनुभयो ।

उहाँले इन्सेकले जनतासँग प्रत्यक्ष सम्वादको अवसर मिलाउँदा गुनासो र समस्या सुन्न सहज भएको बताउँदै धन्यवाद व्यक्त गर्नुभयो । यसका साथै वडा नम्बर ३२ मा भएका समस्या समाधानकालागि सदैव सहकार्य गर्ने उहाँको भनाइ थियो । कार्यक्रममा सूर्य पौडेललको संयोजकत्वमा १५ सदस्य रहेको वडा स्तरीय मानव अधिकार समूह समेत गठन गरिएको छ । समुह गठनपछि बोल्दै संयोजक पौडेलले वडामा बनेका विभिन्न समितिहरु प्रभावकारी बन्न नसकेको बताउँदै मानव अधिकार समूहले प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुशन घिमिरे