समीक्षा गर्दै आगामी कार्ययोजना र रणनीतिक बैठक सम्पन्न
सप्तरी । २०८० फागुन १५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार समूहद्वारा डाक्नेश्वरी नगरपालिकामा सम्पन्न कार्यको समीक्षा तथा आगामी कार्ययोजना र रणनीतिबारे ०८० फागुन १३ गते बैठक भएको छ । बैठकमा शिक्षा, स्वास्थ्य, वातावरण, महिला हिंसा र सबै प्रकारका समस्याहरूको कार्ययोजना, रणनीति सम्बन्धमा बैठक बसेर निर्णय गरिएको छ । डाक्नेश्वरी नगरपालिकामा रहेका समस्याहरू समाधानका लागि विगतको कार्ययोजना बमोजिम सम्पन्न गर्ने निर्णय गरिएको समूहका अध्यक्ष रामचन्द्र मण्डलले जानकारी दिनु भयो । महिला हिंसा पीडित र न्यायबाट वञ्चितहरूको विषयमा नगर प्रमुख र महिला तथा बालबालिका र सम्बन्धित शाखालाई ध्यानाकर्षण गरी समाधानको पहल गर्ने निर्णय गरिएको छ । अध्यक्ष मण्डलले डाक्नेश्वरी नगरपालिकाभित्र जुनसुकै ठाउँमा परेका समस्या विरूद्ध जागरण अभियानका साथै मानव अधिकार र वातावरण संरक्षणको अभियान सञ्चालन गरिने बताउनु भयो । यस्तै, मानव अधिकार समूहले स्थानीय तहको समस्या पहिचान तथा कार्ययोजना निर्माण गरी फागुन महिनामा नै नगर प्रमुखलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ । वडाका समस्याको पहिचान र समाधानका लागि पहल गर्न वडा स्तरीय मानव अधिकार समूह गठन गरिने निर्णय गरिएको छ । वातावरण सुरक्षा र मानव अधिकारको रक्षाका लागि काम गरिरहेको मानव अधिकार समूहले स्थानीय तहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरणको अधिकार तथा लैङ्गिक हिंसा र जातीय विभेद बिरूद्ध सचेतनामूलक कार्यक्रम गरिरहेको छ । अधिकारबाट कोही पनि नछुटुन् भनी बाल मैत्री बिधालय, स्वास्थ्य सेवामा पहुँच, स्वच्छ वातावरणको रक्षा हुने गरी योजना तय गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रामलखन मलाहले विकास निर्माणको योजना सँगै बाल अधिकार र मानव अधिकारको क्षेत्रमा पनि नगरपालिकाले योजना बनाएको बताउनु भयो । नगर सभाबाट स्वास्थ्य वातावरणका लागि फोहोर व्यवस्थापन र सुविधायुक्त स्वास्थ्य चौकी, बालमैत्री विद्यालय, बालबालिकाहरूको लागि खेलकुदका योजना राखिएको भन्दै नगर प्रमुख मलाहाले मानव अधिकार समूहमा आउने समस्याहरूको सत्यता परीक्षण गरेर अगाडि बढ्न आग्रह गर्नु भयो । आएका समस्याहरूको अनुगमन गरी नगरमा जानकारी दिएमा नगरपालिकाले समाधानका लागि सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो । डाक्नेश्वरी नगरपालिका ७ का वडा अध्यक्ष शत्रुघ्न मण्डलले नागरिकताबिहीन चनर सदाको नागरिकता बनाउन पहल गर्ने इन्सेकलाई धन्यवाद दिनु भयो । बाल विवाह, महिला हिंसा विरुद्ध सदैव सहयोगी रहने मण्डलले प्रतिबद्धता जनाउनु भयो । प्रदेश मानव अधिकार समूहकी अध्यक्ष देवीमाया भट्टराईले न्यायबाट बञ्चित हुने अवस्था आउन नदिने जिम्मेवारी अधिकारकर्मीहरूको रहेको बताउनु भयो । उहाँले नगर र जिल्लाबाट निवारण नहुने समस्यालाई प्रदेशमा छलफल गरी समाधान गरिने र आवश्यक परे सम्बन्धित मन्त्रालयमा पुर्याउने बताउनु भयो । बाल अधिकार सचेतना समूहका अध्यक्ष अरुण कुमार साहलगायत पदाधिकारीहरूले नगरका गाउँ बस्तीहरूमा अनौपचारिक शिक्षा, महिला हिंसा, बाल अधिकार सम्बन्धी चेतनामूलक कार्यक्रम तथा विद्यालयमा खेलकुद प्रतियोगिता र स्वास्थ्य परिक्षणको व्यवस्थापन हुनु पर्ने भनाइ राख्नु भयो । समूहका अध्यक्ष रामचन्द्र मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारी, सदस्यहरू, पशु विकास शाखा प्रमुख राजनाथ पण्डित, बाल अधिकार सचेतना समूहका उपाध्यक्ष मनिषा कुमारी रजकलगायतको सहभागिता रहेको जिल्ला सहजकर्ता अजय परियारले बताउनु भयो ।
मनोहरकुमार पोखरेल