सामाजिक सेवा प्रभावकारी हुन आवश्यक छ : मन्त्री जिसी
सुर्खेत । २०८० असोज ८ गते
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले सामाजिक सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । ४४ औं सामाजिक सेवा दिवसको अवसरमा असाेज ६ गते गैरसरकारी संस्था महासंघकाे आयोजना तथा इन्सेक कर्णाली प्रदेश कार्यालय, सुन्दर नेपाल, किर्डाक नेपाल, एफआइएन, स्याक नेपाल र अन्तरनिर्भर समाज संस्थाहरुको समन्वयमा भएको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सामाजिक सेवामा सरकारी र गैरसरकारी संस्थाले नागरिकलाई अनुभूति गर्नेगरी काम गर्न आवश्यक रहेको बताउनुभयो । समाजसेवामा कुनैपनि स्वार्थ नराखी सरकार र सरोकारवालाबिच समन्वय आवश्यक रहेको मन्त्री जिसीले औंल्याउनुभयो । ‘कति काम गरिएको छ भन्ने तिरभन्दा पनि अर्कोले काम गर्न दिएन, मैले राम्रै गरिरहेको थिए भन्ने बुझाइ सबैमा देखियो,’ उहाँले भन्नुभयो, ‘अर्कोले राम्रो गरेकोलाई राम्रो नभन्ने परिपाटी हावी भएको छ । हामी सबै आफैले राम्रो गरेको भन्ने तर जनताले अनुभूति नै नगर्ने अवस्था आएको छ ।’
समाजसेवा गर्न सबैमा समान दृष्टिकोण राख्नुपर्ने मन्त्री जिसीको भनाइ छ । नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रममा कर्णालीका तीन जनालाई सम्मान समेत गरिएको छ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मीनबहादुर शाही, कलाकार प्रेमदेव गिरी र शिक्षा क्षेत्रका अभियन्ता शिला गुरुङ सम्मानित हुनुभएको हो । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाहीले समाज रुपान्तरणको क्षेत्रमा गैससले खेलेको भूमिकाको प्रशंसा गर्न आवश्यक रहेको बताउनुभयो । ‘विकास निर्माणमात्रै समाजसेवा होइन । समाजको सकारात्मक रुपान्तरणमा सबैले ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो,‘मान्छेमा जातीय, धार्मिक, भौगोलिक विभेद कायमै छ । अब परोपकारको क्षेत्रमा अघि बढ्न आवश्यक छ ।’ समाज रुपान्तरण क्षेत्रमा लागेका व्यक्तिहरुलाई सम्मानले अरुलाई पनि समाजसेवामा लाग्न प्रेरित हुने गैर सरकारी संस्था महासंघ, नेपाल सुर्खेतका अध्यक्ष प्रकाश सारुले बताउनुभयो । कार्यक्रममा सहभागी अन्य गैरसरकारी संस्थाका प्रतिनिधिहरुले समाजिकार्य गर्नका लागि विभिन्न संघ संस्थाहरु २०३४ को ऐन अनुसार चलेको भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने सुझाव राखेका थिए ।
दिवसकै अवसरमा मानवसेवा आश्रम सुर्खेतमा फलफूल समेत वितरण गरिएको इन्सेकका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले जानकारी दिनुभयो ।
जगतदल जनाला विक