सामुदायिक विद्यालयमा शिक्षा र स्वास्थ्यसम्बन्धी हक प्रत्याभूति गर्न ध्यानाकर्षण
सुर्खेत । २०८० फागुन २९ गते
बराहताल गाउँपालिकाका सामुदायिक विद्यालयमा शिक्षा, स्वास्थ्यको हक प्रत्याभूति गर्नका लागि इन्सेकले फागुन २९ गते ध्यानाकषर्ण पत्र बुझाएको छ । इन्सेकद्वारा गठित बराहताल गाउँपालिका स्तरीय मानव अधिकार समूहका संयोजक छबिलाल शर्मा र सदस्य ख्यामु पौडेलले गाउँपालिकाको शिक्षा शाखा प्रमुख डम्मर कुमारी रोकायलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । समूहले राजधानीकोे वीरेन्द्रनगरपालिका सँगै जोडिएको बराहताल गाउँपालिकाभित्र रहेका नौ ओटा माध्यामिक विद्यालय, १५ ओटा आधारभूत विद्यालय र ३२ ओटा प्राथमिक विद्यालयहरुमा कम्प्युटर भए पनि प्रयोगमा नआएको र कतिपय विद्यालयमा कम्प्युटर शिक्षक नै नभएको र विद्यालयमा व्यवस्थित शौचालय नभएका कारण यथासिघ्र व्यवस्थापन गर्न शिक्षा शाखालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा संविधानमा गरिएको व्यवस्था अनुरुप बराहताल गाउँपालिकामा अध्ययनरत बालबालिकाहरु शिक्षा र स्वास्थ्य सेवाको हकबाट बञ्चितहुनु परेको स्मरण गराउँदै शिक्षा र स्वास्थ्यसम्बन्धी हकको प्रत्याभूति दिलाउनु घरदैलोको सरकारको रुपमा रहेको पालिकाको शिक्षा शाखाको प्रमुख दायित्व, कर्तव्य र जिम्मेवारी भएको औंल्याइएको छ । त्यस्तै संविधानमा व्यवस्था गरिए बमोजिम बराहताल गाउँपालिकामा सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको शिक्षा र स्वास्थ्यसम्बन्धी हक प्रत्याभूतिका लागि तत्काल कदम चाल्न सुझाव दिइएको छ । समूहले नेपालको संविधान भाग ३ को धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरेको बताउँदै प्रत्येक नागरिकलाई स्वच्छ र स्वास्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चितता गर्न अनुरोध गरेको छ । ध्यानाकर्षण पत्र बुझ्दै शिक्षा शाखा प्रमुख रोकायले विद्यालयमा देखिएको शिक्षा र स्वास्थ्यको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
जगतदल जनाला विक