सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
मकवानपुर । २०८० भदौ २५ गते
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिकाको वडा नं. ४ को सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम ०८० भदौ २४ गते सम्पन्न भएको हो । डब्लुपिडि नेपाल र इन्सेकको सहकार्यमा मनहरी गाउँपालिका वडा नं. ४ मा ‘अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण’ रिन्यु परियोजना अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य समस्यामा अस्पतालमा वेडको अभाव हुँदा बिरामीलाई भूइँमा उपचार गर्ने गरेको, राज्यले पर्याप्त मात्रामा आधारभुत औषधि निशुल्क भनेता पनि जनताले अझै पनि पाउन नसकेको, विद्यालयमा कम्प्युटरको अभाव र पुस्तकालयमा सबैलाई सहज पहुँच नभएको, हरेक कुराको निर्णय प्रक्रियामा महिला सहभागिता न्यून रहेको र वडामा वितरण गरिने वस्तुहरू मल, बीउ र अन्य कृषि सामग्री पर्याप्त मात्रामा समयमा पाउन नसकेको बारेमा छलफल भएको थियो । यसैगरी, बाटो निर्माण र पूर्वाधारको अझै पहुँच हुन नसकेको, युवा तथा स्थानीय बालबालिकालाई विद्यालयमा पर्याप्त खेलकुद सामग्री पाउन नसकेको, अति निर्णय वर्ग र आम संस्थागत समुदायमा बालबालिकाहरूले विद्यालय छोड्ने दर बढ्दो रहेको, बालबालिकामा बढ्दो दुर्व्यसन धुम्रपान जस्ता गतिविधि हुँदा उक्त समाजमा धेरै चुनौती भएको बारेमा छलफल भएको थियो ।
साथै उक्त छलफलमा बालबालिकाहरू दुर्व्यसन/धुम्रपान जास्ता कुलतमा रहँदा, बाल विवाह, घरेलु हिंसा, पुरुषहरूले मादक पदार्थ सेवन गरी बढ्दै गरेको हिंसाका घटना न्यूनीकरण गर्न विद्यालय प्रशासन र स्थानीय सरकारको भूमिका कम रहेकोले यसलाई जागरुक बनाउन नागरिक समाजले सबैलाई सचेत बनाउन जरुरी रहेको विषयहरू थिए । इन्सेक परियोजना संयोजक कृष्णप्रसाद नेपालले परियोजना लक्षित कार्यक्रमबाट महिला शसक्तिकरण र स्थानीय सरकारलाई जिम्मेवार बनाउन र मानव अधिकार मैत्री शासन व्यवस्था प्रणालीलाई अवलम्बन गर्नको लागि यो परियोजना केन्द्रित रहेको बताउनु भयो । मनहरी गाउँपालिकाको वडा नं. ४ का वडा अध्यक्ष प्रकाश थापाले कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै वडाबाट प्रदान गरिने सेवा प्रवाह र आवास, खाद्य, कृषि सामग्री वितरण जस्ता विषयहरूलाई प्राथमिकता गरिने र जिम्मेवार नागरिकको पनि महिला सशक्तिकरण आर्थिक आर्जनमा महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्यले विद्यालयमा बालबालिकाहरू दुर्व्यसन/धुम्रपान जास्ता कुलत र बाल विवाह हुन नदिन धेरै प्रयास गरिरहेको बताउनु भयो । उहाँले यस्ता कुलतबाट बालबालिकाहरूलाई बचाउन विद्यालय प्रशासन, अभिभावक र स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको बताउनु भयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा