सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम

मकवानपुर । २०८० भदौ २६ गते

स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा हेटौँडा उपमहानगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा हेटौँडा उपमहानगरपालिकाको वडा नं. १९ को सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम ०८० भदौ २५ गते सम्पन्न भएको हो । डब्लुपिडि नेपाल र इन्सेकको सहकार्यमा हेटौँडा उपमहानगरपालिकाको वडा नं. १९ मा ‘अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण’ रिन्यु परियोजना अन्तर्गत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त अन्तर्क्रिया कार्यक्रममा नेवारपानी सहरी स्वास्थ्य केन्द्रमा पर्खाल नभएकाले असुरक्षा भएको, तालिम हल व्यवस्थित नरहेको, वर्षायाममा लेउ लागेर उपचार गर्न जाने बिरामी नै लडेर घाइते हुने अवस्था आएको र कतिपय औषधिहरू म्याद सकिएको अवस्थामा रहेको भन्दै हिलोले खुट्टा खाएका बेला औषधि लिन जाँदा समेत नपाएको जस्ता समस्याहरूको बारेमा छलफल भएको थियो ।

यसैगरी, निर्मल माध्यमिक विद्यालयमा खेलकुद र अतिरिक्त क्रियाकलापको वातावरण नभएको, नेवारपानीस्थित अरनिको माध्यमिक विद्यालयमा शिक्षकहरू अनुपस्थित हुने गरेको भन्दै विद्यार्थीहरू दिउँसै घर फर्केने गरेको पाइएको र विभिन्न तालिम तथा कार्यक्रमहरू दुर्गम गाउँहरूमा लैजानुपर्ने जस्ता विषयहरूको बारेमा छलफल भएको थियो । इन्सेक परियोजना संयोजक कृष्णप्रसाद नेपालले परियोजना लक्षित कार्यक्रमबाट महिला शसक्तिकरण र स्थानीय सरकारलाई जिम्मेवार बनाउन र मानव अधिकार मैत्री शासन व्यवस्था प्रणालीलाई अवलम्बन गर्नको लागि यो परियोजना केन्द्रित रहेको बताउनु भयो । स्वास्थ्य केन्द्रकी प्रमुख सुसन शर्माले पर्खाल नहुँदा आफू समेत असुरक्षित रहेको बताउनु भयो । उहाँले पटक पटक कम्पाउण्डिङका लागि वडामा माग गरिएको स्मरण गराउनुभयो । खानेपानी समस्या रहेको, स्वास्थ्य केन्द्र परिसरमा वर्षामा पानी पलाउने समस्या भएकाले लेउ लागेर हटाउनै नसक्ने अवस्था रहेको बताउनु भयो । कार्यक्रममा वडा सदस्य रिता सुनारले सुनिएका सबै गुनासोहरूका बारेमा वडाध्यक्षलाई जानकारी गराउने र सुधारको प्रयत्न गरिने बताउनु भयो ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा