सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्खेत । २०७९ माघ १२ गते
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल र वीरेन्द्रनगर मानव अधिकार रक्षक सञ्जालको बैठक बसी बैठकले वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वटामा सूर्तिजन्य पदार्थ नियमन र नियन्त्रण ऐन २०७६ को परिच्छेद–३ को दफा (११) को (३) पूर्ण रुपमा पालना नभएको भन्दै सञ्जालले नगर प्रमुख मोहनमाया ढकाललाई ध्यानाकर्षण पत्र बुझाएको हो प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर शहरलाई स्वस्थ, स्वच्छ र नशामुक्त हुन नसक्दा यसको प्रत्यक्ष असर बालबालिकामा परेकाले सूर्तिजन्य पदार्थ सेवन गर्न प्रोत्साहन गर्ने वातावरणमा बालबालिका हुर्किरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । तसर्थ सूर्तिजन्य पदार्थको बिक्रीवितरण रोक्न सार्वजनिक स्थलहरूमा अनुगमन गरि ऐन नियम विपरित कार्य गर्ने गराउने जो कोहीलाई अविलम्ब कारवाहीको दायारमा ल्याउनका लागि पहल गर्न ध्यानाकर्षण पत्रमा अनुरोध गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख ढकालले सूर्तिजन्य पदार्थ बिक्री बितरणको सम्बन्धमा अनुगमन गर्ने र यदी बिक्री वितरण भएको पाइएमा कानुनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०७६ को परिच्छेद–३ को दफा (११) को (३) मा कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, ज्येष्ठ नागरिक आश्रम, पुर्नस्थापना केन्द्र, अनाथालय र नेपाल सरकार तथा प्रदेश सरकारले राजपत्रमा सुचना प्रकाशन गरी तोकिएको सार्वजनिक स्थलबाट कम्तिमा एक सय मिटर दुरी भित्र सूर्तिजन्य पदार्थ बिक्रीवितरण गर्न गराउन पाइने छैन भन्ने उल्लेख छ । ऐनमा यस्तो व्यवस्था भएपनि वीरेन्द्रनगर नगरपालिकाको १६ वटै वडामा सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०७६ को परिच्छेद —३ को दफा (११) को (३) पूर्ण रुपमा पालन नभएकोे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
प्रभाकुमारी रावत