सेवाग्राहीद्वारा स्थानीय तहको सेवा प्रभावकारी बनाउन माग

रामेछाप । २०७८ वैशाख ४ गते

स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी प्रवाधान र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सेवाग्राहीले स्थानीय तहको सेवा प्रभावकारी बनाउन माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा ०७८ वैशाख ३ गते मन्थलीमा आयोजित अन्तरक्रियका कार्यक्रम सहभागी सेवाग्राहीहरूले सो माग गरेका हुन् । कार्यक्रमका सहभागीहरूले नगरभित्र सञ्चालन भएका विद्यालयहरूमा निष्पक्ष रूपमा शिक्षक नियुक्ति गर्नुपर्ने, स्वास्थ्य सेवा प्रभावकारी हुनुपर्ने, बजार अनुगमनलाई थप प्रभावकारी बनाउनु पर्ने माग गर्नुभएको थियो । नगरपालिकाका कर्मचारीको कमजोरीका कारण नागरिकले दुःख पाइरहेको सहभागीहरूको गुनासो थियो ।

मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा बन्द रहेको शल्यक्रिया सहितको प्रसुति केन्द्र सञ्चालन नहुँदा सुत्केरीहरूलाई समस्या भएको, स्वास्थ्य बिमा मार्फत सरकारले निशुल्क प्रदान गर्ने औषधी प्राथमिक स्वास्थ्य केन्द्रबाटै दिने व्यवस्था नहुँदा नगरिकलाई समस्या हुने गरेको गुनासो सहभागीले गरेका थिए । सहभागीहरूको मागलाई सम्बोधन गर्दै मन्थली नगरपालिकाको महाशाखा प्रमुख हेमन्त बुढाथोकीले मन्थली नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी प्रावधान र त्यसको कार्यान्वयनको अवस्थाको बारेमा जानकारी दिनुभएको थियो । उहाँले कक्षा ८ सम्म निशुल्क शिक्षा, स्थानीय पाठ्यक्रम निर्माण गरी पठन पाठन सञ्चालन, विद्यायलको पूर्वाधार व्यवस्थापन र सुधार, शिक्षक नियुक्तिमा निष्पक्षता कायम गर्ने प्रयत्न भइरहेको बताउनुभयो ।

मन्थली नरपालिका सुख्खाग्रस्त क्षेत्र भएकोले लिफ्ट खानेपानी र सिंचाई, बजार अनुगमन र व्यवस्थापन लगायतका क्षेत्रमा पनि पालिकाले नीति बनाएर काम गर्ने उहाँले बताउनुभयो । नगरपालिकामा ९० प्रतिशत भन्दाबढी भूकम्पले क्षति भएका घर बनि सकेका जानकारी दिँदै उहाँले बाँकी भवनको पुननिर्माणको लागि पनि ताकेता गरिने जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्य संस्थामा पूर्वाधार तथा जनशक्ति व्यवस्थापनमा नगरपालिकाले नीति नै बनाएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा मन्थली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले ख वर्गका अपाङ्ता भएका, एकल महिला तथा दलित महिलाको लागि स्वास्थ्य बीमामा नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको, सुत्केरी हुन अस्पताल जाने महिलाको एम्बुलेन्स खर्च नगरपालिकाले व्यहोर्ने गरेका, सुत्केरी महिलालाई घरमा नै गएर स्वास्थ्यजाँच गर्ने, सुत्केरीसँग उपमेयर कार्यक्रम लगायतका कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

नबराज पथिक