स्थानीय जनप्रतिनिधि र न्यायिक समितिलाई क्षमता अभिवृद्धि तालिम

धनुषा । २०७७ मङ्सिर १५ गते

 

क्षिरेश्वरनाथ नपामा स्थानीय जनप्रतिनिधि र न्यायिक समितिका पदाधिकारीलाई मङ्सिर १३ र १४ गते क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिइएको छ । तालिममा क्षिरेश्वरनाथ नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरूलगायत ३३ जनाको उपस्थिति रहेको थियो । तालिममा कोभिडको समयमा मानव अधिकारसम्बन्धी प्रशिक्षण इन्सेक प्रदेश २ का संयोजक राजु पासवान र न्यायिक समितिसम्बन्धी कानुनी प्रावधान र न्यायिक समितिको अधिकारसम्बन्धी प्रशिक्षण एड्भोकेसी फोरम नेपालका प्रदेश २ संयोजक राजकुमार महासेठले दिनु भएको थियो ।

घटना वा विषयवस्तुउपर परामर्श गर्ने तरिकाका बारेमा महिला अधिकारकर्मी हेमलता सिग्देलले र सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी विषयमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का मानव अधिकार अधिकृत मनमाया राना मगरले प्रशिक्षण दिनुभएको थियो । न्यायिक समितिका सदस्य वीरेन्द्रकुमार सिंहले अहिलेसम्म जानीनजानी कार्यसम्पादन गर्दै आएकोमा तालिमले अझै प्रष्ट पारेको बताउनुभयो । क्षिरेश्वरनाथ न्यायिक समितिका संयोजक एवम् नगरपालिकाकी उपप्रमुख रचना माथेमाले अहिलेसम्म नगरपालिकामा न्यायिक समितिको लागि इजलास बनाउन नसकेको भएपनि आफ्नै कार्यकक्ष र सभाहलमा बसेर छलफल, फैसला र सुनवाइ गर्दै आएको बताउनुभयो ।

दिपेन्द्रप्रसाद सिंह