स्थानीय तहमा शैक्षिक समस्या
कालीकोट । २०७७ असोज २३ गते
इन्सेक कालिकोटद्वारा असोज २२ गते आयोजित शिक्षाको अधिकारबारे शिक्षक, अविभावक र विद्यार्थीबिच भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले शिक्षा क्षेत्रमा समस्याहरू भएको गुनासो गरेका हुन् । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत भएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थी र अविभावकहरूले खाँडाचक्र नगरपालिका भित्रका अधिकांश विद्यालयहरूमा खानेपानी, शौचालय र शिक्षक दरवन्दीको अभाव रहेको बताउनु भएको छ । यस्तै शुभकालिका गाउँपालिकामा असोज २१ गते आयोजित शिक्षाको अधिकारबारे अन्तरक्रिया कार्यक्रममा अविभावकहरूले विद्यालयमा भर्ना भएका विद्यार्थीहरूका लागि पाठ्यपुस्तक अपुग भएकाले तत्काल व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गर्नु भएको थियो ।
शुभकालिका दाहलदेव मावि शुकाटियाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्दवहादुर शाहीले कोभिड–१९ का कारण जिल्ला बाहिर पढ्न जाने अवस्था नभएपछि स्थानीय विद्यालयमा भर्ना भएका बालबालिकाहरुले पाठ्यपुस्तक नपाएको बताउनु भयो । मानव अधिकार समूह खाँडाचक्रका अध्यक्ष अविसरा अधिकारीले खाँडाचक्र नगरपालिकामा रहेका जनज्योति मावि, हुपिडाडा मावि, नवज्योति आधारभूत विद्यालयमा खानेपानीको अभाव रहेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराउनु भयो । शुभकालिका गाउँपालिका शिक्षा शाखाका श्रोत शिक्षक पुष्पराज आचार्यले पाठ्य पुस्तक लगाएतका समस्याको समाधानका लागि गाउँपालिकाले तत्काल पहल गर्ने धारणा राख्नुभयो ।
कालीबहादुर मल्ल