स्थानीय तहले ध्यान दिएमा लैङ्गिक हिंसा घट्छ : सांसद थकाली

मुस्ताङ । २०७७ मङ्सिर २० गते

 

देशमा  बिद्यमान रहेको लैङ्गिक हिंसाको समस्या स्थानीय तहले ध्यान दिएको खण्डमा हट्न सक्ने हिमालपारीको जिल्ला मुस्ताङका प्रदेश सभा सांसद महेन्द्रबहादुर थकालीले बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा मुस्ताङको जोमसोममा आयोजित कार्यक्रममा थकालीले अहिले देशैभर रहेको स्थानीय तहले आफ्नो क्षेत्रभित्र मात्र ध्यान दिएर अगाडि बढेमा हिंसाका घटना कम हुने बताउनुभएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा मुस्ताङमा भएको जातिय विभेद र कोभिड–१९ ले महिलामा परेका असर विषयक अन्तरक्रिया कार्यक्रममा सांसद थकालीले मुस्ताङ जिल्लाभित्र विगतमा गाउँ तहमा हुने बैठकहरुमा महिला सहभागिता नहुने भएको भएपनि पछिल्लो समय त्यो परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले कहि कतै समस्या होला तर महिलालाई रोक लगाइएको छैन । विगतमा के थियो भन्ने तिर भन्दापनि अहिले पछिल्लो समयमा गाउँहरुमा मुखियाले बैठकहरुमा महिलाहरुलाई सहभागी गराउने सकारात्मक काम गर्नुभएको छ ।’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले लैंङ्गिक हिंसा रोक्नका लागि सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने जस्ता आपराधिक कार्य निस्तेज हुनपर्छ । उहाँले जातिय छुवाछुतको उजुरी मुस्ताङ जिल्लामा नपरेको भए पनि छुवाछुत छैन भन्ने अवस्था नरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो– ‘मानसिक, शारीरिक तथा आर्थिक कुनै पनि हिंसाको सिकार महिला हुनुहुन्न ।’ सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष सर्मीला गुरुङले हिंसा र अपराधका घटनाहरु पछिल्लो समय मुस्ताङमा बढेको बताउनुभयो । उहाँले भन्नुभयो –‘२०६४ सालमा अदालतमा एउटै उजुरी थिएन तर अहिले छन् ।’

‘महिलालाई सशक्त नबनाएसम्म हिंसा नरोकिने भएकाले त्यसका लागि हामी सबैले आफ्नो स्थानबाट पहल गर्नुपर्ने छ ।’ जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता टेकनाथ अधिकारीले जिल्लामा अहिले महिलासँग सम्बन्धित बलात्कार जन्य उजुरीहरु पर्न थालेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर आशिष अधिकारीले महिला हिंसा र महिला माथि हुने कुनै पनि घटनामा शुन्य सहनशिलता अपनाएर कार्य गरिएको बताउनुभएको थियो । कार्यक्रमको समन्वय घरपझोङ गाउँपालिकाले गरेको थियो । कार्यक्रममा घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले न्याय दिन ढिला हुने तथा न्याय नै नपाउने अवस्था कतै हुन नहुने बताउनुभएको थियो । जोमसोम अस्पतालका डाक्टर शिव भण्डारीले अस्पतालमा कर्मचारी पर्याप्त नहुँदा सेवाप्रवाहमा केही समस्या हुने गरेको भए पनि भएका जनशक्तिले नै सकेसम्म राम्रो गर्न प्रयास गरेको बताउनुभयो ।

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाकी महिला बालबालिका शाखाकी सहायक महिला विकास निरिक्षक सावित्रा सुवेदीले आफ्नो गाउँपालिका क्षेत्रभित्र महिलाहरुलाई सार्वजनिक कार्यक्रममा सहभागिता गराउन निकै समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सामान्यतया महिलाहरु गोष्ठी तथा बैठकहरुमा सहभागी कम हुने हुँदा हिंसा भए नभएको थाहा पाउन समेत सकिएको छैन ।’ नेपाल रेडक्रस सोसाइटी मुस्ताङका सभापति चन्द्रबहादुर थकालीले धार्मिक कारण पनि हिंसाका घटनाहरु बढेको हुनसक्ने बताउँदै परिवर्तन आफैबाट सुरु हुनुपर्नेमा जोड दिनुभएको थियो । मुस्ताङका पत्रकार तिलक विकले सबै स्थानमा समान अधिकार सुनिश्चितता हुनका लागि कानुनको कार्यान्वयन सहि तरिकाले हुनुपर्ने बताउनुभयो । उहाँले बाध्यकारी कानुन नभएको भए स्थानीय तहमा दलित महिलाको सहभागिता न्यून हुने बताउनुभएको थियो ।

अमृतप्रसाद पौडेल