स्थानीय बालमैत्री शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कास्की । २०८० जेठ १ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले सामाजिक विकास कार्यालयको सहयोगमा जेठ १ गते रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासनका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले बालमैत्री पालिका निर्माणका लागि नीतिगत रुपमा बालबालिकाका लागि व्यवस्था गरिएको बताउनु भयो । सुत्केरी र महिलालाई पोषणको व्यवस्था, अपाङ्गता भएका बालबालिकालाई अध्ययन गर्न पाउने व्यवस्था तथा सबै लक्षित वर्गका अधिकारका लागि गाउँपालिका सचेत रहेको उहाँले बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले बालबालिकाको क्षमता अभिवृद्धिका लागि काम गरिरहेको बताउनु भयो । उहाँले पूर्णखोप कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नु भयो । पोषणका लागि कार्यक्रम चलिरहेको र त्यसलाई दिगो बनाउने पालिकाको लक्ष्य रहेको उहाँको भनाई छ ।

 

उपाध्यक्ष लालशोभा गुरुङले भौतिक विकासले मात्र प्राथमिकता पाइरहेको भन्दै बालमैत्री कार्यक्रम सञ्चालनमा कमीकमजोरी भएकाले बालमैत्री पालिका निर्माणका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो । बाल अधिकार सुनिश्चित भएमात्र दिगो विकास लक्ष्यमा पुग्न सकिने उहाँले बताउनु भयो । इन्सेकका गण्डकी प्रदेश संयोजक शिव खकुरेलले संस्थाले मानव अधिकार मैत्री कानुन निर्माण तथा सुशासनका लागि पहल गर्दै आइरहेको बताउनु भयो ।

नारायण केसी