स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सरोकारवाला निकायको भुमिका विषयक कार्यक्रम सम्पन्न
धनुषा । २०७९ कात्तिक २१ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधामको आयोजनमा स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सरोकारवालाको भुमिका र प्रतिवद्धता विषयक अन्तरसम्वाद कार्यक्रम कात्तिक २१ गते जनकपुरधाममा सम्पन्न गरिएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत धनुषाका प्रमुख न्यायाधीश ब्रजेश प्याकुरेलले स्वतन्त्र, निष्पक्ष र भयरहित तथा शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि राजनीतिक दल, उम्मेदवार, मतदाता र कर्मचारी लगायत सम्पूर्ण नागरिकले आ–आफनो दायित्व निर्वाह गर्नुको साथै निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । उहाँले देशमा सुरक्षा निकायका चार वटै संगठन बाहेक निजामति कर्मचारी, शिक्षक, सञ्चारकर्मी, नागरिक समाजसमेत राजनीतिक रुपमा विभिन्न संघ संगठनमा आवद्ध भएकाले यसको निर्वाचन आचार संहिता परिपालना गराउन नियमनकारी भुमिका निर्वाह गराउनमा चुनौती रहेको बताउनु भयो । निर्वाचन आयोगले शान्तिपूर्ण तवरमा निर्वाचन गराउनका लागि सक्रिय भएतापनि केही निश्चित समुहका व्यक्तिहरु निर्वाचन बिथोल्न सक्रिय भएकाले निर्वाचन आयोग सचेत रहेको उहाँले बताउनु भयो । चुनावलाई लक्षित गरी विभिन्न दल, उम्मेदवारहरुले विद्यार्थी, बालबालिकाहरुलाई निर्वाचन आचारसंहिता विपरित प्रयोग गरिरहेकाले निर्वाचन कार्यालय सक्रियतापूर्वक अनुगमन गर्दै कारवाही प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण नागरिकको साथ र सहयोग गर्न आग्रह गर्नु भयो । निर्वाचनको क्रममा गल्ती गर्ने कर्मचारी, प्रहरी लगायत, दल र उम्मेदवारहरुलाई समेत कारवाही प्रक्रियामा ल्याइने उहाँले बताउनु भयो । अहिले विद्यालयमा निर्वाचन मतदानस्थल राख्नुपर्ने बाध्यता रहेकाले यसलाई अन्यथा नलिन र राज्यलाई सहयोग गर्न प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गर्नु भयो । निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचारप्रसार गर्ने उम्मेदवारका दुई दर्जनभन्दा बढी गाडी, प्रचारप्रसार सामाग्री जफत गरी कानुनी कारवाहीको दायरामा ल्याइएको उहाँले बताउनु भयो । उहाँले चुनावको मौन अवधिमा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायका विभिन्न युनिटको साथै निर्वाचन पर्यवेक्षकहरु समेत खटाइएको बताउनु भयो । नेपाल प्रहरीका सङ्घीय इकाईका प्रमुख त एसएसपी धु्रवराज राउतले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनु भयो । इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकाय, कर्मचारी, सामाजिक संघ संस्था र नागरिक समाज लगायतको सक्रिय भुमिका आवश्यक रहेको बताउनु भयो ।
उहाँले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि इन्सेकले देशभर ७ सय ४६ र मधेस प्रदेशमा १ सय ९ जना पर्यवेक्षक परिचालन गरिने जानकारी दिनु भयो । उहाँले निर्वाचन स्थलमा खटिने कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक, स्वमसेवकहरुलाई तालिम दिएर खटाउँदा सहज हुने बताउनु भयो । मतदान केन्द्रमा अपाङग, वृद्ध, गर्भवती र सुत्केरी तथा यौनिक तथा अल्पसङ्ख्यक समुदायहरुलाई लाइनमा सहज तरिकाले मतदान गराउने, सत्ताको दुरुपयोग हुन नदिने, मतदान स्थलमा औषधीलगायत स्वास्थ्यकर्मीको व्यवस्था गरिनुपर्ने सुझाव व्यक्त गर्नु भयो । राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख मन्जु खतिवडाले निर्वाचनमा सबैको पहुँचको सुनिश्चिताका लागि निर्वाचन आयोग र राज्यले ध्यान दिनुपर्नेमा जोड दिनु भयो । उहाँले अहिले विद्यालयमा हुने गरेको मतदान केन्द्रलाई राज्यले विस्तारै टोल टोलमा सामुदायिक भवनहरुमा सार्ने र सोको आधारभुत तयारीका लागि राज्यले अग्रसरता लिनुपर्ने बताउनु भयो । निर्वाचनको यस अवधिमा मानव अधिकारकर्मी, सञ्चारकर्मी, सुरक्षा निकाय, कर्मचारी, दल र उम्मेदवारहरुले आ–आफनो तर्फबाट निर्वाचन आचारसंहिताको पूर्ण पालना गरि राज्यलाई सहयोग गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । नेपाल पत्रकार महासंघ धनुषाका कार्यवाहक अध्यक्ष अवधेश कामतले मतदान केन्द्रहरुमा सञ्चारकर्मी र पर्यवेक्षकहरुलाई सहज प्रवेश गर्न नदिने गरेकोमा सरोकारावाला निकायलाई ध्यानाकर्षण गराउनु भयो । मतदान केन्द्रमा सम्पूर्ण नागरिकको सहज पहुँच गराउनुको साथै सुरक्षा व्यवस्था गर्नु राज्यको दायित्व भएको बताउँदै सुरक्षा व्यवस्थाको नाममा राज्यले नागरिकमाथि दमन गर्न नहुने बताउनु भयो । सञ्चारकर्मी सुरेश यादवले निर्वाचनको क्रममा एउटै उम्मेदवारहरुले करोडौं रकम खर्च गरिरहेकाले यसतर्फ निर्वाचन आयोग र निर्वाचन कार्यालयहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले अवैध मदिरा, भारतीय गाडीको प्रयोगले निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन भइरहेको बताउनु भयो ।
दिपेन्द्रप्रसाद सिंह