स्वच्छ, भयरहित र निश्पक्ष निर्वाचनका लागि पत्रकारहरूसँग अन्तरक्रिया सम्पन्न
तनहुँ । २०७९ कात्तिक ३० गते
इन्सेक गन्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा स्वच्छ, भयरहित र निश्पक्ष निर्वाचनका लागि कात्तिक २९ गते तनहुँका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा इन्सेक गन्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिव खकुरेलले निर्वाचनलाई स्वच्छ, भयरहित र निश्पक्ष बनाउन पत्रकारहरूको ठूलो भूमिका रहने बताउनु भयो । उहाँले निर्वाचन आचार संहिता उल्लङ्घनका घटनालाई पत्रकारहरूले उजागर गर्नु पर्ने भन्दै पत्रकारहरूले सही र सत्य समाचार लेखेमा निर्वाचन निश्पक्ष र भयरहित हुने बताउनु भयो । संयोजक खकुरेलले इन्सेकले जिल्लामा गरेको निर्वाचन अनुगमनको क्रममा पाइएको तथ्यहरू सो अवसरमा जानकारी गराउनु भएको थियो ।
नेपाल पत्रकार महासङ्घ गन्डकी प्रदेश समितिकी उपाध्यक्ष सोनी शर्माले पत्रकारहरूसँधै सत्यको बाटोमा हिड्ने हुँदा निर्वाचनको यो महाअभियानलाई सम्पन्न गर्न पनि पत्रकारहरूले सँधै निश्पक्ष भएर कलम चलाउने बताउनु भयो । नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले इन्सेकसँग सहकार्य गरी निश्पक्ष निर्वाचन अभियानमा हातेमालो गरिएको बताउनु भयो । इन्सेक प्रदेश कार्यालयकी कार्यक्रम संयोजक सवनम शर्मा र इन्सेक प्रतिनिधिले पनि स्वच्छ, भयरहित र निश्पक्ष निर्वाचनका लागि सञ्चारकर्मीको भूमिकाको बारेमा आआफ्नो भनाई राख्नु भएको थियो ।
प्रकाशचन्द्र भट्टराई