स्वास्थ्यको अधिकारबारे अन्तरक्रिया सम्पन्न
सिरहा । २०७७ पुस २८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २६ गते सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा स्वास्थ्य अधिकार विषयमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।गाउँपालिकाको दुई ओटा वडामा बर्थिङ्ग सेन्टर सञ्चालन भएपनि डाक्टर उपलब्ध नहुने, औषधि अभाव हुने जस्ता समस्या रहेको स्थानीयको गुनासो छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले इन्सेकको परियोजनाले थप जिम्मेवार बन्न र दायित्व बहन गर्न सजग बनाएको बताउनु भयो ।
हामीले सबै राम्रो भनेर काम गरेपनि कमजोरीहरु औल्याएर थप जिम्मेबार बन्न मद्दत पु¥याएको उहाँले बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा उठेका समस्याहरू समयमै समाधान गरी स्वास्थ्य क्षेत्रलाई नमुनाको रुपमा सञ्चालन गर्ने प्रतिबद्धता गर्नु भएको थियो । स्वास्थ्य शाखाका संयोजक हरिनारायण चौधरीले आफ्नो भवन नहुँदा प्रभावकारी सेवा सञ्चालनमा केही समस्या भएपनि स्वास्थ्यकर्मीहरुको दरबन्दी थप गरी प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यसैगरी उपाध्यक्ष अमलादेवी यादवले स्वास्थ्य क्षेत्रमा रहेका कमजोरीहरूलाई अगाडि ल्याएर हामीलाई जिम्मेवार बन्न बाध्य बनाएकोले यसै वर्षको बजेटमार्फत समस्याहरूलाई समाधान गर्ने बताउनु भयो । स्वास्थ्य चौकीका प्रमुखहरूले दरबन्दी अभाव, कार्यालय भवन नभएको गुनासो गरेका थिए । कार्यक्रममा गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य चौकीहरुको सेवा, औषधि तथा सेवा सुविधाको प्रयोग र सेवाग्राहीले पाइरहेका सेवाहरूको बारेमा छलफल भएको थियो ।
दुर्गा परियार