स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्याङ्जा । २०७८ फागुन १३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका –१२ स्थित पेल्काचौर स्वास्थ चौकीमा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम ०७८ फागुन ११ गते सम्पन्न गरिएको छ । पुतलीबजार नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको स्वास्थ्यसम्बन्धी कार्यक्रम , नीति तथा कार्यान्वयन्को अवस्थाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने, सुझाव सङ्कलन गर्ने तथा समस्या पहिचान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद काफ्लेले नगरपालिकाले बिनियोजन गरेको कार्यक्रमहरु का बारेमा कार्यपत्र पेश गर्दै जिल्ला अस्पताल र केही स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतनको व्यवस्था रहेको जानकारी दिनुभयो। पुतलीबजार नगरपालिका –१२ का वडाध्यक्ष दुधप्रसाद गुरुङले इन्सेकद्वारा आयोजना गरिने यस्ता कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउदै उहाँले आफ्नो वडा भित्र रहेका स्वास्थ्य चौकीमा उपलब्ध हुनुपर्ने सेवाको बारेमा बताउनुभयो ।

वडा स्वास्थ्य चौकी प्रमुख तिर्थ राज अर्यालले स्वास्थ चौकी बाट दिनुपर्ने सुविधाहरु नागरिक माझ पुर्याउने कोशिश गरेको बताउनुभयो । कार्यक्रमका एक सहभागी पेल्का चौर युवा क्लबका अध्यक्ष राजेन्द्र शर्माले स्वास्थ्य चौकीमा पनि इसिजी सेवा प्रदान गरिनुपर्ने बताउदै यो सेवा प्रवाह भए रक्त चापका बिरामीहरुलाई राहत पुग्ने बताउनुभयो । इन्सेकद्वारा पुतलाीबजार नगरपालिकामा गठन गरिएको मानव अधिकार निगरानी समूहका सदस्य भगवान केसीले स्वास्थ्य चौकीमा टिटि सुइको व्यवस्था गरिनुपर्ने माग राख्नुभएको थियो ।
तिलकुमारी थापा
HUMAN RIGHTS NEWS PORTAL






