स्वास्थ्यलाई मनहरी गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको छः उपाध्यक्ष विष्ट
मकवानपुर । २०७७ मङ्सिर १२ गते
मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले स्वास्थ्यलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजना तथा मनहरी गाउँपालिकास्तरीय मानवअधिकार समूहको समन्वयमा मङ्सिर १२ गते आयोजना गरिको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी समस्या तथा सरोकारवाला पहिचान र कार्य योजना निर्माण कार्यक्रममा कार्यक्रममा उपाध्यक्ष विष्टले सो कुरा बताउनु भएको हो । उपाध्यक्ष विष्टले स्वास्थ्यमा अपनाउनु पर्ने मापदण्ड र नीति नियम भित्र रहेर मनहरी गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा बजेटको व्यवस्था गरेको बताउनु भयो । उहाँले सोही व्यवस्था अनुसार गर्भवति महिलालाई सुत्केरी गराउन वर्थिङसेन्टर, प्राथमिक स्वास्थ्य चौकी वा अस्पताल लानको लागि निशुल्क एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था जानकारी दिनु भयो ।
यसैगरी, पौष्टिक तत्वको लागि अण्डा वितरण न्यानो झोला, नगद रु. २ हजार वितरण तथा टोलटोलमा गएर प्रजनन् स्वास्थ्य शिविर तथा खोप सेवा उपलब्ध गराउने व्यवस्था गरेको पनि उपाध्यक्ष विष्टले बताउनु भयो । साथै पालिकाले बाल मैत्री गाउँपालिका घोषणापछि अनुगमन गर्दै आएको र बालश्रममा रहेका बाललालिका फेला परे उद्धार गरी अभिभावकको जिम्मा लगाउने र अभिभावकलाई रोजगारी उपलब्ध गराउने गरिएको समेत उहाँले जानकारी गराउनु भयो । इन्सेक बागमती प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै मानव अधिकार समूहले सेवाप्रदायक निकाय र सेवाग्राही बीच पुलको काम गर्नु पर्ने बताउनु भयाे । उहाँले सेवा प्रदायक निकायबाट जनतालाई उपलब्ध गराउने सेवा सुविधा र कार्यक्रमहरू सेवाग्राही जनतासम्म पर्याउनलाई मानव अधिकार समूहले कार्ययोजना बनाएर अघि बढ्न पनि उहाँले सुझाव दिनु भयो ।
कार्यक्रममा खरको छानो मुक्त कार्यक्रम, स्वास्थ्य केन्द्रहरूमा बडापत्र राख्ने राजमार्ग क्षेत्रका खाद्यन्न पसलमा अनुगमन गर्ने विद्यालयमाको पठनपाठनको अवस्था, कृषि लगायतमा पनि स्थानीय समस्या पहिचान गरी सरोकारवाला निकायमा माग दाबी गर्ने तथा ज्ञापन पत्र बुझाउने निर्णय भएको छ । कार्यक्रममा बाढी पहिरोबाट बिस्थापित भएका वडा नं. ४ का जनताको स्थानीय स्तरमा अनुगमन गर्ने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने लगायतका समस्या पहिचान भएको छ । महिला हिंसालगायतका विषयमा समूहको तर्फबाट प्रहरी प्रशासनको ध्यानकर्षण गराउनु पर्ने समूहका सदस्यहरूले आवश्यकता औँल्याउनु भएको छ ।
पुष्पराज अधिकारी