स्वास्थ्य अधिकारकसम्बन्धि अन्तरक्रिया सम्पन्न
कैलाली । २०७८ भदौ १७ गते
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत अनौपचाकि क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चि प्रदेश कार्यालय, धनगढी र गौरीगंगा नगरपालिका स्तरीय मानव अधिकार समुहको सहकार्यमा स्वास्थ्य अधिकारसम्बन्धि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम भदौ १७ गते चौमालामा सम्पन्न भएको छ । गौरीगंगा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले नगरपालिकाका सबै वडामा महिला स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपूर्ण भूमिका रहेकाले आ–आफ्नो टोलमा पोषण, सरसफाई तथा स्वास्थ्यसम्बन्धि सचेतना फैलाउन आग्रह गर्नु भयो । उहाँले समुदायस्तरमा राम्रो काम गर्ने महिला स्वयमसेवकहरुलाई प्रोत्साहन तथा विद्यालयका छात्राहरुलाई यौन तथा प्रजनन शिक्षा र सेनेटरी प्याड वितरण गर्ने नगरपालिकाको कार्यक्रम रहेको बताउनु भयो ।
गौरीगंगा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख उमेश भट्टले कुपोषणको समस्या समाधान गर्न स्वास्थ्य इकाईमार्फत जनचेतनामूलक, पोषणयुक्त खाना र सरसफाइसँग सम्बन्धीत अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । महिला स्वास्थ्य स्वयमसेविका माया जोगीले गौरीगंगा नगरपालिका–७ स्थित स्वास्थ्य चौकीमा उपकरण नहुँदा गर्भवती जाँच तथा खोप केन्द्र व्यवस्थित हुनु नसक्दा महिलाहरुलाई थप समस्या उत्पन्न भएको बताउनु भयो । मानव अधिकार समुहकी सदस्य सरीता चौधरीले स्वास्थ्य चैकीमा सरकारले निशुल्क रुपमा वितरण गर्ने भनिएका औषधिको अभाव हुदा स्थानीयले सास्ती खेप्नु परेको बताउनु भयो । स्थानीय सागर थापाले स्वास्थ्य चौकीमा देखिएका औषधि लगायतका समस्या समाधान गर्न नगरपालिकाले दिर्घकालिन योजना बनाएर कार्यक्रम सञ्चालन गर्न र सञ्चालित कार्यक्रमहरुको प्रभावकारी अनुगमन गर्नु पर्ने बताउनु भयोे ।
मैनामोती चौधरी