स्वास्थ्य अधिकारका सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

नवलपरासी (सुस्ता पूर्व)। २०७७ असोज २० गते

 

कावासोती नगरपालिकामा स्वास्थ्य अधिकारका सम्बन्धमा सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम असोज १९ गते सम्पन्न भएको छ ।इएलपी परियोजना अन्तरगत इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले कोभिड–१९ बाट सचेत रहन तर, आवश्यक भन्दा बढी त्रसित नहुन आग्रह गर्नुभयो ।समुदायमा कोरानाको बारेमा धेरै त्रसित बनाउने गरी सूचना प्रवाह भइरहेको भन्दै उहाँले कोभिड–१९ का बारेमा मिडिया र सम्बन्धित पक्षले समेत भ्रम सृजना गर्ने खालका सूचना प्रवाह गर्न नहुने बताउनुभयो । यस्तै स्वास्थ्य शाखा प्रमुख नागिलाले कावासोती नगरपालिकाले स्वास्थ्य अधिकारका बारेमा लिएका नीति तथा कार्यक्रम, कोरोना सङ्क्रमण नियन्त्रणमा भएका प्रयास र कामहरूका बारेमा समेत जानकारी गराउनुभएको थियो ।

 

कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई १५ दिन भन्दा बढी आइसोलेशनमा राख्न नपर्ने भन्दै २१ दिन पछि क्रमिक रूपमा समुदायसँग घुलमिल हुँदै सामान्य दैनिकीमा फर्कन समेत सुझाव दिनुभयो । उहाँले नगरपालिकाले आफ्नो छुट्टै आइसोलेशन कक्ष तयार गरिरहेको भन्दै संक्रमण फैलन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा मध्यविन्दु जिल्ला अस्पताल, नवलपुरका व्यवस्थापन समिति सदस्य नरनाथ पाण्डेले अबको १५ दिन भित्र जिल्ला अस्पतालबाट नै पीसीआर परीक्षण सुरू हुने बताउनुभयो । अस्पतालमा एक हप्ताभित्र मेसिन आइपुग्ने र तत्काल परीक्षण सुरूवात हुने बताउनुभयो । यस्तै उहाँले स्थानीय तह र जिल्ला अस्पतालबिच आवश्यक समन्वय हुन नसकेको भन्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्न आग्रह गर्नुभयो ।

 

सरकारी स्वास्थ्य सस्ंथाबाट नागकिरले के कस्ता सेवा सुविधा प्राप्त गर्न सक्छन् भन्ने समेत कतिपय आम नागरिकलाई जानकारी नभएको भन्दै उहाँले यस विषयमा इन्सेक जस्ता अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूले सुसूचित गर्न समेत सुझाव दिनुभयो । जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले कावासोती नगरपालिकामा बाल विवाहका घटना बढि रहेको हुँदा यस विषयमा स्वास्थ्य शाखाले समेत कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । बाल विवाह हुँदा किशोरीको स्वास्थ्यमा ठूलो असर पुर्याउने हुँदा यो विषयले समेत स्वास्थ्य अधिकार प्रत्याभुत गर्न चुनौती थपिएको उहाँको भनाइ छ । कार्यक्रममा कावासोती नगरपालिकाका विभिन्न स्वास्थ्यचौकीका प्रमुखहरू, सामाजिक अभियान्ता, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

 

तिर्थराज डुम्रे