स्वास्थ्य अधिकारका सवालमा सरोकारवालाहरूबीच अन्तरक्रिया

मकवानपुर । २०७७ पुस २२ गते

 

इन्सेकद्वारा हेटौँडा उपमहापालिकामा गठित मानव अधिकार समूहको आयोजनामा पुस २२ गते स्वास्थ्य अधिकारका सवालमा सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कोभिड–१९ अस्पतालका इन्चार्ज तथा हेटौँडा अस्पतालका डाक्टर सागर काफ्लेले हेटौँडा अस्पतालमा बिरामीको चाप निकै बढेकोले बिरामीलाई धेरै समय दिन नसकिएको बताउनुभयो । डाक्टर काफ्लेले अस्पतालमा दैनिक ४ सय भन्दा बढी बिरामी ओपिडिमा आउने भएकाले सिमित चिकित्सकको जनशक्तिले बिरामीहरूका सबै कुराहरू सुन्न नसकिएको भए पनि अस्पतालले सबैखाले बिरामीलाई समान रूपमा जाँच गर्दै आएको बताउनुभयो । उहाँले अस्पतालको सेवा बृद्धि र जनशक्ति थप गर्नको लागि सबै पक्ष तथा सरोकारवाला निकायलाई झकझकाउन समेत आग्रह गर्नुभयो । यस्तै हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले कोभिड–१९ सहित स्वास्थ्यमा असर पार्ने रोगविरूद्ध योजना, नीति तथा कार्यक्रम नगरपालिकाको प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले किशोरी तथा बालिकालाई स्यानेटरी प्याडदेखी प्रसुति गराउनका लागि दुई ओटा वर्थिङसेन्टर, स्वास्थ्य चौकी तथा प्रत्येक वडामा स्वास्थ्य केन्द्रबाट निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको बताउनु भयो ।

कार्यक्रममा भण्डारीले निशुल्क स्वास्थ्य जाँच, निशुल्क औषधि वितरण, गर्भवती महिलाको निशुल्क प्रसुति सेवा, सुत्केरी भत्ता, बालबालिकालाई खोप लगायतका सेवा प्रदायक निकायबाट भए नभएको खबरदारी मात्र हैन ति सेवा उपभोग गर्नलाई स्थानीय समुदायलाई सचेत गर्न काम मानव अधिकार समूहमार्फत हुँदै आएको उल्लेख गर्नु भयो । यसैगरी नगरको प्रत्येक स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य, खोप सेवा, परामर्श सेवा र परिवार नियोजन सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको जनस्वास्थ्य प्रमुख कार्कीले बताउनु भयो । उहाँले प्राथमिक उपचार सेवा, खोप सेवा र पोषण कार्यक्रम प्राथमिकताकासाथ सञ्चालन गरेको बताउनु भयो । कार्यक्रममा सहभागी स्वास्थ्य स्वयमसेविका यादवकुमारी थापाले नगरपालिकाले सुरुवात गरेको कोसेली सहित सुत्केरी भेटघाट कार्यक्रम शहरमा कोठा भाडामा बस्ने सुत्केरीलाई पनि दिनुपर्ने बताउनुभयो । हेटौँडा बजारमा स्थायी बसोबास गर्ने भन्दा अस्थायी बसोबास गर्ने परिवार धेरै हुने भएकाले उनीहरूलाई पनि सुत्केरी भेटघाट कार्यक्रममा समेट्नुपर्ने बताउनुभयो । एउटै घरमा दुई जना सुत्केरी भए भने स्थायीले पाउने र अस्थायी सुत्केरी परिवारले नपाउँदा विभेद महशुस भएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधी तथा नगर स्वास्थ स्वयमसेविका सङ्घकी अध्यक्ष वेगम बरालले नगरका नागरिकको स्वास्थ अधिकारको रक्षा गर्दै जनताको सेवामा काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीले सेवाप्रदायक निकायहरू अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र लगायत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूबाट उपलब्ध गराउने स्वास्थ्य सेवाका बारे स्थानीय समुदायलाई सचेत पार्ने उद्देश्य यस कार्यक्रमको रहेको बताउनु भयो । उहाँले नेपालको संविधानले मौलिक हकको रुपमा सुनिस्चित गरेको स्वास्थ्य अधिकारका लागि सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लगानिको प्रतिफल जनताले उपभोग गर्न र गराउन मानव अधिकार समूहले पुलको काम गर्नु पर्ने बताउनु भयो । कार्यक्रमकी अध्यक्ष तथा हेटौँडा उपमहानगरपालिका स्तरीय मानव अधिकार समूहकी संयोजक चन्द्रावती पनेरुले बिमा कार्यक्रममा समाहित सेवाग्राहीले दुर्घटना लगायतका आपतकालिकन अप्रेशन गर्नु पर्ने अवस्थामा समयमा उपचार नपाएउँदा नीजि अस्पताल जानु पर्ने अवस्था रहेको बताउनु भयो ।

पुष्पराज अधिकारी