स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया सम्पन्न
कैलाली । २०७७ असोज १९ गते
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र मानव अधिकार समुहको सहकार्यमा स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम असोज १९ गते कञ्चनपुर जिल्लाको पुर्नवासमा सम्पन्न भएको छ । पुर्नवास नगरपालिका—६ सराशन स्वास्थ्य चौकीका इन्चार्ज तेजप्रकाश जोशीले दैनिक ४० / ५० जनासम्म सेवाग्राही सेवा लिन आएता पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउने ४५ प्रकारको औषधि स्वास्थ्य चौकीमा नहुँदा सेवाग्राहीहरुले किनेर औषधि लिनु पर्ने बाध्यता रहेको बताउँदै स्वास्थ्य चौकीमा खानेपानी, बस्ने ठाउँको अभाव र खोप केन्द्रको समस्या रहेको बताउनु भयो ।
पुर्नवास नगरपालिका—५ का वडाध्यक्ष बिरबहादुर बोगटीले कोभिड—१९को माहामारीमा आइपरेका विभिन्न समस्या समाधानका लागि सामुहिक रुपमा छलफल गरी जानु पर्ने स्थितिमा नगरप्रमुखको कार्यव्यस्तताले कार्यपालिकाको बैठक बस्न नसक्दा नागरिकहरुले समस्या भोग्नु पर्ने अवस्था सृजना भएको बताउनु भयो । पुर्नवास नगरपालिका—६ का वडाध्यक्ष मनबहादुर गुरुङले नगरपालिकाबाट स्वास्थ्यका लागि छ्ुट्याइएको बजेटले समयमा औषधि खरिद गर्न नसकेकोे बताउँदै नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्न नसक्दा नागरिकहरुले स्वास्थ्य अधिकारबाट वन्चित हुँनु परेको बताउनु भयो ।
महिला स्वास्थ्य स्वयंसेविका गंगा रोकायाले स्वास्थ्य चौकीबाट उपलब्ध गराउने औषधिको अभाव हुँदा कुपोषणको समस्या, गर्भवतीलाई दिइने आइरन चक्की तथा पाँच वर्ष मुनिका नवजात शिशुहरुलाई खोपको समस्या रहेको बताउनु भयो । महिला स्वास्थ्य स्वयंसेविका कल्पना थापाले कोभिड—१९ को माहामारीमा नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जनचेतनाका लागि परिचालन गर्न नसकेको बताउनु भयो ।
मैनामोती चौधरी