स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया सम्पन्न

कैलाली । २०७८ भदौ २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा पुनर्वास नगरपालिका स्तरीय मानव अधिकार समुहको समन्वयमा स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम भदौ २१ गते सम्पन्न भएको छ । महिला स्वास्थ्य स्वयमसेविका देबमाया लोहनीले आफूहरुलाई प्राथमिक स्वास्थ्य सेवा प्रवाह गर्नका लागि ग्रामीण क्षेत्रमा खटाइएको भएपनि सामान्य औषधि तथा प्राथमिक उपचारका समाग्रीहरु प्रयाप्त मात्रामा स्वास्थ्य चौकीबाट उपलब्ध नहुँदा समस्या भएको बताउनु भयो । पुनर्वास नगरपालीका–४ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि बस्ने कुर्ची समेत नहुँदा सेवा प्रवाहमा थप समस्या उत्पन्न हुने गरेको उहाँले बताउनु भयो ।

महिला स्वास्थ्य स्वयमसेविका अनिता थापाले सरकारले २०५८ सालमा दिएको किटबक्सले आफूहरुले स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताउँदै २० वर्ष भइसक्दा समेत सरकारले किटबक्स उपलब्ध नगराएको गुनासो गर्नु भयो । पुनर्वास जनता माध्यमिक विद्यालयका शिक्षक बिष्णुप्रसाद आर्यालले स्वास्थ्य संस्थाहरु अपाङ्ग मैत्री नहुँदा फरक क्षमता भएका नागरिकहरुलाई सेवा लिन समस्या भएकोले अपाङ्ग मैत्री संरचना निर्माण गर्न आवश्यक भएको बताउनु भयो । समाजिक अगुवा विश्वनाथ बिष्टले कोभिड माहामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लामो समयसम्म गरेको निषेध आदेशका कारण विद्यालय जाने उमेरका बालबालिकाहरु लागुऔषध तथा दुर्वेसनिका शिकार भइरहेकाले यसतर्फ सरोकारवालाहरुको ध्यान जान आवश्यक रहेको बताउनु भयो ।

त्रिभुवनबस्ती स्वास्थ्य चौकी प्रमुख गजेन्द्र बिष्टले मानव अधिकार समुहले माग गरे अनुसार त्रिभुवनबस्ती स्वास्थ्य चौकीबाट निशुल्क रुपमा वितरण गरिने औषधिहरुको नामावली नेपाली भाषामा टास गर्नुको साथै सुझाव पेटीकाको समेत व्यावस्था गरिएको बताउनु भयो । पुनर्वास नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमा एकाधिकार रहने व्यवस्था गरेको भएपनि स्थानीय तहहरुलाई सम्पूर्ण अधिकार प्रत्यायोजन नहुँदा समस्या भएको बताउनु भयो । पुनर्वास नगरपालिका–६ का अध्यक्ष मनबहादुर गुरुङ्गले खुल्ला सिमानका कारण स्वास्थ्यसँग प्रत्येक्ष प्रभाव पार्ने लागु औषधलगायत अबैध सामाग्रीको चोरी पैठारी हुने गरेको स्थानीयबाट गुनासो आएपछि सिमा क्षेत्रमा दुई ओटा सुरक्षा पोष्ट राखिएको भएतापनि  नियन्त्रण हुन नसकेको बताउनु भयो । पुनर्वास नगरपालिका–५ का अध्यक्ष तथा त्रिभुवनबस्ती स्वास्थ्य चौकीका अध्यक्ष बिरबहादुर बोगटीले स्वास्थ्य चौकीमा एक्सरे मेसिन ल्याइएको दुई महिना वितिसक्दा पनि कर्मचारी व्यवस्थापन नहुँदा सेवाग्राहीहरुलाई सेवा दिन नसकिएको बताउनु भयो । एक्सरे मेसिन सञ्चानल गर्न कर्मचारीको व्यवस्थापन गरी दिन नगरपालिकालाई पटकपटक अनुरोध गरिएको भएपनि सुनवाइ नभएको उहाँले बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी