स्वास्थ्य अधिकारको विषयमा अन्तरक्रिया सम्पन्न

रामेछाप । २०७७ माघ १५ गते

 

इन्सेकको आयोजनामा खाँडादेवी गाउँपालिकामा स्वास्थ्यको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ माघ १४ गते सम्पन्न भएको छ । गाउँपालिकामा भएको स्वास्थ्य सेवा प्रवाहको अवस्था तथा स्वास्थ्य अधिकारको विषयमा मानव अधिकार समूह र सरोकारवालाहरूबीच छलफल कार्यक्रम आयोजना गरिएको हो । खाँडादेवी गाउँपालिका–६ का वडाअध्यक्ष पुष्कर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अगुवा, स्वास्थ्य स्वयमसेविकाको सहभागीता रहेको थियो ।

वडाअध्यक्ष कार्कीले स्थानीय स्वास्थ्यचौकीबाट निशुल्क परीक्षण सहित औषधि विरणको व्यवस्था गरिएको, मधुमेय, रक्तचाप लगायतका नसर्ने रोगका लागि नियमित परीक्षणको व्यवस्था सहित घरदैलो सेवा सञ्चालन गर्ने लक्ष रहेको बताउनु भयो । उहाँले कोभिड–१९ का कारण सर्वसाधरण सेवा लिनका लागि स्वास्थ्य संस्थाहरूमा जान समस्या भए पनि स्वास्थ्य मापदण्ड अपनाएर स्वास्थ्यकर्मीहरूलाई नियमित परिचालन गरिएको बताउनु भयो ।

कार्यक्रमका सहभागीले अहिले पनि स्वास्थ्य संस्थामा पूर्वाधारको समस्या भएको, गाउँघर क्लिनिकमा आवश्यक पूर्वाधार नभएको, स्वास्थ्य शिक्षाका कार्यक्रम प्रभावकारी हुन नसकेका, गुनासो गरेका थिए ।  उनीहरुले नियमित घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने, स्वास्थ्य संस्थालाई पूर्वाधार सम्पन्न बनाउँदै लैजानुपर्ने, स्वास्थ्य संस्थाबाट स्वास्थ्य सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

नबराज पथिक