स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
सप्तरी । २०७७ माघ १ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएपनि नागरिकहरू उक्त हकबाट वञ्चित हुनुपरेको र स्वास्थ्यसम्बन्धी समस्यै समस्या रहेको सहभागिहरूले गुनासो गरे । स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले इन्सेकले सञ्चालन गरेको कार्यक्रमले जिम्मेवार निकायलाई जबाफदेही बनाउनुको साथै जिम्मेवारी बोध गराएको बताउनु भयो । कोभिड–१९ महामारीको नियन्त्रणमा खटेका स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता नपाएको, खोप केन्द्रका लागि आएको बजेट सदुपयोग हुन नसकेको, आमा समूहलाई चियाको व्यवस्था समेत गर्न नसकिएको भन्नुहुँदै यादवले आफूले बनाएको योजना लागु गर्न सहयोग नपाएको बताउनु भयो । स्वास्थ्यसम्बन्धी योजना, नीति, कार्यक्रमको सदुपयोगबारे निगरानी राख्न उहाँले आग्रह गर्नुभयो ।
कोभिड–१९ का कारण तथा स्थानीय तहलाई स्वास्थ्य क्षेत्रको जिम्मा दिए पछि सेवाको स्तर कमजोर बनेको स्वीकार्दै स्वास्थ्य शाखाका सिनियर अहेव शिवनारायण चौधरीले राम्रो भनेर काम गरेपनि कमजोरीहरू औँल्याएर थप जिम्मेवार बन्न कार्यक्रमले मद्दत पुर्याएको बताउनु भयो । इन्सेकका सदस्य बैद्यनाथ झाले निगरानी समूहको नेतृत्वमा दबाब सृजना गर्न समूहलाई र अन्तरक्रिया कार्यक्रममा उठेका समस्याहरू समयमै समाधान गरी स्वास्थ्य क्षेत्रलाई नमुनाको रूपमा सञ्चालन गर्न नगरपालिकालाई आग्रह गर्नुभयो । पत्रकार दिनानाथ यादवले अस्पतालका केही डाक्टरले क्लिनिक, प्रयोगशाला तोकेर पठाउने गरेको तथा अनुमानको भरमा प्रयोगशालाले रिपोर्ट बनाउने र चिकित्सकले उपचार गर्ने गरेको गुनासो गर्नुभयो ।
स्वास्थ्य स्वयम्सेविका निर्मला पोखरेलले सेवासुविधाका साथै लामो समयदेखि स्वयम्सेविकाहरूले तालिम नपाएको, शहरी स्वास्थ्य केन्द्रमा गर्भवती जाँच नहुने गरेको, म्याद सकिन लागेपछि औषधि र बालभिटा बाँड्न दिने गरेको लगायतका समस्याबारे अवगत गराउनु भयो । इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सेवाप्रदायक निकायहरूलाई खबरदारी गर्ने तथा सरकारले उपलब्ध गराएको स्वास्थ्य सेवाका बारे स्थानीय समुदायलाई जानकारी दिई सचेत पार्ने काम इन्सेकले गर्दै आएको बताउनु भयो । यूएनडब्लुएफपीका राकेशकुमार यादवले स्वास्थ्य विमाको प्रचारप्रसार नभएको, स्वास्थ्य स्वयमसेविका, आमा समूहको परिचालन हुन नसकेको, स्वस्थ्य क्षेत्र अव्यवस्थित रहेकोले जिम्मेवार निकायलाई नैतिक, मानसिक, सामाजिक दवाव दिन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा राजविराज नगरपालिका अन्तर्गत रहेको अस्पताल, स्वास्थ्य केन्द्र, खोप केन्द्रहरूको सेवा, औषधि तथा सेवा सुविधाको प्रयोग र सेवाग्राहीले पाइरहेको सेवाहरू बारेमा छलफल भयो । अन्तरक्रियामा सहभागीहरूले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दीअनुसार चिकित्सक–कर्मचारी नरहेको, भएका चिकित्सक पनि निर्धारित समयसम्म नबसेर क्लिनिकमुखी भएको, उपचार गर्न झञ्झट मानेर रेफर गर्ने गरेको, शहरी स्वास्थ्य केन्द्र र खोप केन्द्र व्यवस्थित हुन नसकेको, विद्यालयमा नियुक्त स्टाफ नर्सले कुनै काम नपाएको जस्ता समस्या राखेका थिए । कार्यक्रमका अध्यक्ष मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुवर साहले समस्या पहिचान गर्दै घच्घच्याउने काम भइरहेकोमा अब छिट्टै समस्याहरू सुत्रबद्ध गरेर ज्ञापनपत्र बुझाउने तयारी गर्न लागिएको बताउनुभयो । इन्सेक सप्तरीका सहजकर्ता दिपककुमार यादवले परियोजनाअनुसार राजविराज नगरपालिका र विष्णुपुर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका समस्याहरूको समाधानका लागि इन्सेकले विभिन्न क्रियाकलाप गर्दै गरेको जानकारी दिँदै स्वास्थ्य अधिकारका बारेमा जानकारी गराउनु भयो ।
मनोहरकुमार पोखरेल