स्वास्थ्य, खाद्य अधिकारका लागि मानवअधिकार समूहको अभियान
कालीकोट । २०७७ पुस २७ गते
इन्सेक कालिकोटद्वारा शुभकालिका गाउँपालिकामा गठित मानव अधिकार समूहले स्वास्थ्य, शिक्षा, खाद्य र आवासको अधिकारका लागि अभियान सञ्चालन गरेको छ । गाउँपालिकाका ८ वटै वडामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका समस्याहरूको समाधानका लागि विभिन्न क्रियाकलाप गर्दै अभियान सञ्चालन गरेको मानव अधिकार समूहका अध्यक्ष सुस्मिता विकले बताउनुभयो । अध्यक्ष विकका अनुसार अभियान अन्तर्गत पुस २२ गते मानव अधिकार समूहको वैठक तथा समस्या सवाल पहिचान, पुष २३ गते खाद्य र आवासको अधिकार सम्वन्धि गोष्ठी र शुभकालिका गाउँपालिका–४ दलित वस्तीमा चरम खानेपानीको समस्याका विषयमा मागदावी पेश गरेको छ ।
गाउँपालिकाभित्र रहेका दलित वस्ती र विद्यालयहरूमा खानेपानीको समस्या रहेपनि हालसम्म स्थानीय सरकारले समाधानमा चासो नदिएको भन्दै मानवअधिकार समूह, स्थानीय समुदायका अगुवाहरूले राष्ट्रिय योजना आयोगका सदस्य मिनवहादुर शाहीलाई निवेदन दिएका छन । उक्त मागपत्रमा दलित बस्तीमा भएको खानेपानी समस्या समाधानका विषयमा गाउँपालिकामा पटक–पटक ध्यानाकर्षण पत्र बुझाउँदा पनि ध्यान नदिएको गुनासो गरिएको छ । निवेदन ग्रहण गर्दै आयोगका सदस्य शाहीले शुभकालिका लगायत जिल्लाको खानेपानी, स्वास्थ्य समस्याको विषय योजना आयोगको वैठकमा छलफल गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । यसैबीच शुभकालिका गाउँपालिका स्थित चन्द्रसूर्य मावि हाउडीमा गठन भएको बालअधिकार चेतना समूहलाई इन्सेकले आर्थिक सहयोग गरेको छ ।
बालअधिकारका लागि चेतना समूहले बनाएको कार्ययोजना कार्यान्वयनका लागि पुस २३ गते इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले संरक्षक शिक्षक यसोधा भट्टराइको रोहवरमा समूहका पदाधिकारीहरूलाईरु ७ हजार ३ सय ७१ रूपियाँ नगद प्रदान गर्नु भएको हो । उक्त रकमले बालअधिकारका लागि जनचेतना मुलक देउडा प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्व कला प्रतियोगिता लगायतका क्रियाकलाप सम्पन्न गर्ने समूहका अध्यक्ष शान्ति आचार्यले जानकारी दिनुभयो ।
कालीबहादुर मल्ल