स्वास्थ्य मापदण्डको पालना गराउन नागरिक समाजको माग
रामेछाप । २०७७ कात्तिक ४ गते
कोभिड–१९ सङ्क्रमण दिनदिनै बढ्दा पनि स्वास्थ्य मापदण्डमा पालना नभएको प्रति नागरिक समाजले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । मानव अधिकार संरक्षण सञ्जाल, इन्सेक र मन्थली नगरपालिका स्तरीय मानव अधिकार समूहको आयोजनामा ०७७ कात्तिक ४ गते मन्थलीमा भएको नागरिक समाजको बैठकमा कोभिड–१९ सङ्क्रमण फैलिएको अवस्थामा पनि बजार क्षेत्र तथा बैंकमा भिडभाड गरी भौतिक दुरी कायम नगरेकोले सङ्क्रमणको जोखिम उच्च भएको बताइएको छ । सेवा प्रदायक सरकारी निकाय, संस्था, बैँक, सञ्चार संस्था, पसल र होटलमा समेत स्यानिटाइजर, हात धुने साबुन पानी, मास्क तथा भौतिक दुरी लगायतका सुरक्षा मापदण्डको प्रयोग गरेको नपाइएकोले त्यसमा नागरिक समाजले सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।
यसैगरी सङ्क्रमणको बेला पहिलो घेरामा रहेर काम गरिरहेका जिल्लाका पत्रकारलाई कुनै पनि बेला सङ्क्रमण देखिन सक्ने जोखिमलाई ध्यानमा राखी सङ्क्रमण देखिए त्यस्ता पत्रकारलाई आइसोलेशनमा राख्नका लागि आवश्यक विकल्प खोज्न पनि नागरिक समाजले पत्रकार महासङ्घको ध्यानाकार्षण गराएको छ । यसका साथै सदरमुकाम मन्थलीमा आइसोलेशनको सङ्ख्या न्युन रहेको तथा भएको आइसोलेशन समेत न्युनतम मापदण्डको नभएकोले जिल्लाका पेशागत संस्था, सहकारी, र वित्तिय संस्थाले आफ्ना सदस्य तथा कर्मचारी सङ्क्रमित भए राख्नको लागि वैकल्पिक आइसोलेशन कक्ष स्थापनाको लागि पहल गर्न समेत नागरिक समाजले ध्यानाकषर्ण गराएको छ ।
नवराज पथिक