स्वास्थ्य सेवामा सहज पहुँचका लागि स्वास्थ्य शाखा प्रतिबद्ध

सप्तरी । २०७७ माघ १५ गते

 

विष्णुपुर गाउँपालिकाका स्वास्थ्य संयोजक धु्रबनारायण देबले स्वास्थ्य क्षेत्रमा रहेको कमीकमजोरी हटाउँदै स्वास्थ्यलाई सर्वसाधारण जनताको सहज पहुँचमा पु¥याउने प्रतिबद्धता गर्नु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा माघ ११ गते बिष्णुपुर गाउँपालिकाको बैठक कक्षमा भएको स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबीचको अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य संयोजक देबले स्वास्थ्य सेवामा सबैको सहज पहुँचका लागि स्वास्थ्य शाखा प्रतिबद्ध रहेको बताउनु भयो । निःशुल्क स्वास्थ्य सेवाका बारेमा सर्वसाधारणमा पहुँच बनाउन नागरिक समेत जागरुक हुनुपर्ने उहाँले बताउनु भयो ।

बिष्णुपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विन्देश्वरप्रसाद साहले स्वास्थ्य शाखाले नियमित सेवा प्रवाह गरे पनि व्यवस्थित नभएको गुनासो गर्नु भयो । स्वास्थ्य संस्थाबाट वितरण हुने निःशुल्क औषधि, उपचार कक्ष, कार्यालय व्यवस्थापनमा निकै कमी देखिएको साहले बताउनु भयो । वडा नम्बर ६ का वडा सदस्य रामकुमार रायले गाउँपालिकामा स्वास्थ्य बिमा, ज्येष्ठ नागरिक बिमाका बारेमा प्रचार–प्रसार नभएको र बिमाकर्ताहरूले काम नगरेको आरोप लगाउनु भयो । स्वास्थ्यका कर्मचारीहरू ढिला आउने गरेको गुनासो गर्नुहुँदै निगरानी समूहका सदस्य लिलाकान्त साहले महिला स्वास्थ्यकर्मी नहुनाले सेवाग्राही महिलाहरू उपचारका लागि जान अप्ठ्यारो मान्ने गरेको बताउनु भयो । पत्रकार दिनानाथ यादवले स्वास्थ्य शाखाबाट निःशुल्क वितरण हुने औषधी उपलब्ध नगराई चिकित्सक, स्वास्थ्यकर्मीले अन्य औषधि लेखेर बजारबाट किन्नै पर्ने बाध्यात्मक अवस्था सृजना गरेको बताउनु भयो ।

कार्यक्रममा इन्सेक सप्तरीका सहजकर्ता दिपककुमार यादवले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने दायित्व तीनै तहका सरकारको भएको बताउनु भयो । सेवाप्रदायक र जिम्मेवार निकायहरूलाई खबरदारी गर्ने तथा सरकारले उपलब्ध गराएको स्वास्थ्य सेवाकाबारे स्थानीय समुदायलाई जानकारी दिई सचेत पार्न कार्यक्रम गरिएको उहाँले बताउनु भयो । कार्यक्रममा सहभागीहरूले इटहरी बिष्णपुरस्थित विद्यालयमा सेनेटेरी प्याड राख्न, विभिन्न विद्यालयमा सेनेटरी प्याड वितरणमा पुरुषको साटो महिला शिक्षक राख्न, मास्क–सेनिटाइजर, साबुन–पानी आदि स्वास्थ्य सामग्रीको प्रयोग गर्न–गराउन, कोभिड–१९ को जोखिममा रहेको विद्यालयहरूको अनुगमन गर्न, विद्यालयहरूमा सेनिटाइजर मेशिन राख्न सम्बन्धित निकायसँग माग गरे ।

मनोहरकुमार पोखरेल