हिंसाविरूद्ध प्रतिकार गर्न आग्रह : उपाध्यक्ष पुलामी
मकवानपुर । २०७९ मङ्सिर २२ गते
मनहरी गाउँपालिकाका उपाध्यक्ष सिता पुलामी मगर (रेखा) ले राज्यले महिलाहरूलाई यथोचित व्यवस्था गर्ने भन्दै गर्दा र प्रयास हुँदै गर्दा अझै महिला हिंसा हुनु दुखद घटना भएको बताउनुभएको छ । इन्सेक नेपालले मङ्सिर २० गते मनहरीमा आयोजना गरेको महिला माथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । साथै कार्यक्रमा बोल्दै उहाँले हिंसा सहेर नबस्न आग्रह समेत गर्नुभएको छ । सचेत महिलाहरू नै हिंसामा परेको देख्दा तल्लो तहको महिलाको अवस्था कस्तो होला भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नुभएको छ । महिला भनेको मायाको खानी हौ भन्दै हिंसालाई कमि गराउन घरको सदस्यलाई अलि माया देखाउन उपस्थित महिलाहरूमा आग्रह समेत गर्नुभयो ।
त्यस्तै हिंसा न्यूनीकरण गर्न सिंगो गाउँपालिका नै लागिपर्ने बताउनुभएको छ । पालिका भित्रका महिला समूहलाई सक्रिय भएर गाउँपालिकासङ्गै हातेमालो गर्दै अगाडि आउन समेत आग्रह गर्नुभयो । साथै अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाहरु लागू पदार्थको सेवनले महिला हिंसामा परेको, ज्याला गरेको पैसा मात्र आफूले प्राप्त गर्ने गरेको लगायतको समस्या भोग्नु परेको दुखेसो व्यक्त गरे । त्यस्तै छोरोबाट अपहेलना, श्रीमानबाट अपहेलना, अर्कि महिला सङ्ग लागेर घरकी श्रीमती बेपत्ता जस्ता विषयमा कार्यक्रमका सहभागीहरूले रूँदै मनको बेदना पोखेका थिए । कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ का वडा अध्यक्षहरू, स्थानीय सञ्चारकर्मी तथा स्थानीय महिलाहरूको उपस्थिति रहेको थियो भने इन्सेक बागमती प्रदेशका सुपरभाइजर तिल कुमारी हुमागाईको सभाध्यक्षतामा भएको हो । कार्यक्रमको उद्येश्यबारे इन्सेक नेपालका कार्यक्रम संयोजक कृष्ण नेपालले प्रष्ट पार्नुभएको थियो भने रेडियो मनहरी एफएमका स्टेशन म्यानेजर शिव कुमार रिजाल (काशी) ले सहजीकरण गर्नुभएको थियो ।
पुष्पराज अधिकारी