हिंसा न्यूनीकरण गर्न सबै तहबाट सहयोग हुनुपर्छ : वडाध्यक्ष गुरुङ
स्याङ्जा । २०७७ मङ्सिर २१ गते
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रममा आफ्नो धारणा राख्दै फेदीखोला गाउँपालिका वडा नम्बर ५ की वडाध्यक्ष देउकुमारी गुरुङले सो कुरा भन्नुभएको थियो । उहाँले देशमा अहिले रहेको तीन तहको सरकारले आ–आफ्नो स्थानबाट समाजमा रहेको हिंसालाई कम गर्न प्रयास गर्नुपर्ने र हिंसा न्यूनीकरण गर्न सबै तहबाट सहयोग हुनुपर्ने कुरामा जोड दिनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठन गरिएको मानव अधिकार समुह, फेदिखोला गाउँपालिका र मानव अधिकारकोलागि महिला, एकल महिला समूह कास्कीको संयुक्त आयोजनामा राष्ट्रिय नाराः लैड्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको एक्यवद्धता विषयकमा लैड्गिक हिंसाविरुद्ध को १६ दिने अभियान कार्यक्रम फेदिखोला गाउँपालिका वडा नम्बर ५ मा सम्पन्न भएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडाध्यक्ष गुरुङले वषौदेखि मनाइदै आइएको हिंसाविरुद्धको १६ दिने अभियानको महत्व र उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले भन्नुभयो–‘सन १९८१ बाट मनाउन सुरू गरिएको यो हिंसाविरुद्ध को कार्यक्रम अहिलेसम्म पनि नेपालमा विभिन्न माध्यमबाट मनाइँदै आइएको छ, यो कार्यक्रमले हिंसामा परेकाहरूलाई सचेत गर्ने कार्य गर्छ भने हिंसा निवारण गर्न हामी प्रतिबद्ध छौ भन्ने सन्देश दिन्छ ।’
एकल महिला समूह कास्कीकी अध्यक्ष जमुना केसीले प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले हिंसा अन्त्य गर्नकालागि महिला मात्र नभएर पुरूष तथा समलिङ्गीहरूका बिचमा पनि कार्यक्रम गर्न अत्यन्तै आवश्यक भएको कुरा बताउनुभयो । उहाँले एकल महिलामाथि विभिन्न ठाँउमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हिंसा भइरहेको कुरा भन्नुभएको थियो । कार्यक्रममा फेदिखोला गाउँपालिकाका उपाध्यक्ष देवि थापाले घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ र फेदिखोला गाउँपालिकाको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले स्याङ्जामा ०६२ साल भन्दा पहिले ७८ जना एकल महिलाहरूलाई रातो वस्त्र धारण कार्यक्रमपनि हिंसाविरूद्धको अभियानमा गरिएको र त्यसपछि एकल महिलाहरू विभिन्न माध्यमबाट अगाडि बढेको कुरापनि बताउनुभयो । कार्यक्रममा फेदिखोला गाउँपालिका मानव अधिकार न्यायीक समूह अध्यक्ष लेखनाथ पराजुलीले हिंसा आफ्नै घरमा र नातेदारबाट नै हुने गरेको बताउनुभयो । महिला माथि अमानवीय व्यवहार भएको कुरा बताउनुभयो । फेदिखोला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिमालय जङ्ग बानियाले महिलामाथि हिंसाको रूपमा अमानवीय व्यवहार भएको घटनाहरूपनि बढ्दै गएको बताउनुभयो । सामाजिक विकास समिति संयोजक ज्ञानुमाया पौडेलको अध्यक्षता भएको उक्त कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।
तिलकुमारी थापा
HUMAN RIGHTS NEWS PORTAL







