हिंसा पीडितलाई न्यायको पहुँचमा पु¥याउन सबैको पहल आवश्यक

सल्यान । २०७९ कात्तिक १८ गते

जोखिममा रहेका हिंसा पीडित महिला तथा बालबालिकालाई न्यायको पहुँचमा पु¥याउन सबैले पहल गर्नुपर्ने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । पीडितलाई कानुनी सेवाको विषयमा जानकारी नहुनु, आर्थिक अभाव हुनु जस्ता कारणले विभिन्न हिंसामा परेका महिला तथा बालबालिकाको न्यायमा पहुँच नपुग्ने भएकाले ती पीडितलाई न्यायको पहुँचमा पु¥याउन सबैले पहल गर्नुपर्ने बताएका हुन् । इन्सेकद्वारा संचालित अधिकार–२ परियोजना अन्तर्गत कात्तिक १७ गते जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न सरोकारवाला निकाय र सिफारिस संयन्त्रका सदस्यबीच आयोजित छलफल कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । बैठकमा बोल्दै शारदा नगरपालिकाका कार्यबाहक नगरप्रमुख सुस्मिता सापकोटा सुनारले अझैपनि समाजमा हुने गरेका महिला तथा बालबालिका पीडित भएका घटनाहरू बाहिर आउन नसकेको बताउनुभयो ।

न्यायिक समितिमा आएका मुद्दामा दुबै पक्षको मेलमिलापको माध्यमबाट किनारा लगाउने गरिएको भएपनि न्यायिक समितिसम्म उल्लेख्य मात्रामा मुद्दा नआउने गरेको कार्यबाहक नगरप्रमुख सुनारको भनाई छ । ‘हामी कहाँ आएका मुद्दाहरू मध्ये हाम्रो क्षेत्र अधिकार भित्र रहेका मुद्दाको मेलमिलापको माध्यमबाट टुङग्याएका छौँ तरपनि खासै मुद्दा नै आउदैनन्’ उहाँले भन्नुभयो ‘कतिपय हिंसा पीडित न्यायको पहुँचसम्म आउननै सक्दैनन, उनीहरूलाई पनि न्यायको पहुँचमा ल्याउनको लागि न्यायिक समिति र सिफारिस संयन्त्रका बीचमा पनि थप सहकार्य गरेर अघि बढ्ने छौँ ।’ यस्तै सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले हिंसामा परेका सबैलाई न्याय दिलाउनु सबैको दायित्व भएकाले यसमा सबैले सहजीकरण गर्नुपर्ने बताउनुभयो । जिल्ला स्तरीय सिफारिस संयन्त्रका संयोजक गुमानसिंह नेपालीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा शारदा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष लिला बहादुर रोका, नगर कार्यपालिका सदस्य पुष्पा नेपाली लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बुद्धि पुनले गर्नुभएको थियो । 

मिना बुढाथोकी