हिंसा पीडित न्यायिक निकायसम्म पुग्नै समस्या !

बाजुरा । २०७७ मङ्सिर ५ गते

 

हिंसापीडित महिलाहरू न्यायिक निकायसम्म पुग्न नसक्दा समाज र पारिवारबाट हिंसा सहेरै बस्नु परेको एक कार्यक्रमका सहभागीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले डिसिएको आर्थिक सहयोगमा मङ्सिर ५ गते मार्तडीमा मानव अधिकार रक्षकको अवस्था र सवाल विषयक समीक्षा बैठकमा सहभागीहरूले यस्तो कुरा बताएका हुन् । दलित अधिकारकर्मी गोरख सार्कीले स्वामी कार्तिकखापर गाउँपालिकाकी रिली चदारालाई दलित भनेर स्थानीय विनोद शाहीले बारीमा सिंचाईका लागि पानी लगेको पाइप तोडेर नहर नै भत्काई दिएपछि कात्तिक ३० गते कुटपिट गरेको बताउनु भयो । इलाका प्रहरी कार्यालय पिलुचौरमा उजुरी दिएपनि राजनीतिक दबाबले गर्दा बिना छलफल रिलीको उजुरी ढिसमिस भएको उहाँको भनाइ छ । यस्तो आपराधिक काम गर्नेलाई मानव अधिकार रक्षकको पहलबाट सम्बन्धित निकायमा कानुनी पक्रियामा सहयोग गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

रेडियो बार्जुकी स्टेशन म्यानेजर नन्दा थापाले बुढीगङ्गा नगरपालिका–९ की मिश्रा थापाका पतिले केही वर्ष पहिला बहुविवाह गरेको थाहा पाएपछि मिश्राले जिल्ला अदालतमा उजुरी गर्नुभएको बताउनु भयो । । ‘जिल्ला अदालतले मिश्रालाई अंश र माना चामल दिनुपर्ने फैसला पनि गर्यो‍ । अदालतबाट भएको फैसला कार्यान्वयन नहुँदा उनी घरबारविहीन छिन् ।’–उहाँले भन्नु भयो ।  कानुन व्यवसायी तुलाराम जैशीका अनुसार हिंसामा परेका महिलालाई नेपाल सरकारद्वारा वैतनिक वकिलको व्यवस्था छ । ‘त्यसको लागि सरकारी वकिल कार्यालयमा सम्पर्क गर्नु पर्छ भन्ने नै थाहा नहुँदा समस्या हुने गरेको छ । सरोकारवालाले यसको प्रचार गर्न जरुरी छ ।’–उहाँले भन्नु भयो ।

पदम सिंह