
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न
कपिलवस्तु । २०७९ फागुन २७ गते
कपिलवस्तु नगरपालिकाको आयोजना र इन्सेकलगायत सङ्घ संस्थाहरूको आयोजनामा फागुन २६ गते लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिलाको पहुँच बिस्तार भन्ने मुलनाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले संविधानले प्रदत्त अधिकार कार्यान्वयन हुन सके लैंगिक बिभेद नहुने बताउनु भयो । उहाँले अधिकार कसैले उपहारकोरुपमा नदिने भएको हुँदा आफ्नो हक अधिकार लिनकालागि आफै सक्रिय हुन महिलाहरूलाई आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले महिलाहरूले प्राप्त गरेको पदिय दायित्व , काम , कर्तब्य , अधिकारको पालना गर्न सके आफ्नो अधिकारबाट वञ्चित हुन नपर्ने बताउनु भयो । पछिल्लो समयमा बिभिन्न संघ संस्थाहरुले कार्यक्रमका लागि कार्यक्रम भन्दा पनि व्यानरमा मात्र तामझाम देखाउने प्रवृत्ति बढ्दै गएको बताउनु भयो ।
इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले स्थानिय तहले श्रमको निती बनाएर कार्यान्वयन गर्न जरुरी देखिएको बताउनु भयो । यसैगरी, इन्सेकद्वारा गठित मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले महिलाहरूलाई शिक्षा र स्वरोजगारमा कपिलवस्तु नगरपालिकाले देखाउन सक्ने कुनै कार्यहरु गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले महिलाहरूलाई दिगो उद्यमशिलता र आत्मनिर्भर बनाउन नगरपालिकाले नगर परिषद्मा बजेट सहितको निती पास गर्नुपर्नेमा जोड दिनुभयो । मुश्लिम शसक्तिकरण केन्द्रका कनिज फत्मा रंगरेजले संविधानमा ३३ प्रतिशत महिला अनिवार्य लेखिए पनि कार्यान्वयन हुन नसक्नु दुखको कुरा भएको बताउनु भयो । ओरेक नेपालका सहायक कार्यक्रम अधिकृत संगिता चौरासियाले महिला र किशोरीहरुका सवालहरुलाई सम्बोधन गर्न सरोकारवाला निकायहरूको ध्यान जान आवश्यक रहेको बताउनु भयो ।
पार्वती आचार्य