७४औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
महोत्तरी । २०७९ मङ्सिर २४ गते
“सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने नाराका साथ लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अन्तिम दिन मंसीर २४ गते महोत्तरीमा अन्तरक्रिया सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालयको आयोजना तथा इन्सेक, ओरेक, टिपीओ नेपाल, स्पर्श नेपाल, जिल्ला प्रहरी कार्यालय र युवा जिल्ला संजाल लगायत विभिन्न संघ संस्थाको समन्वयमा ७४ औँ मानव अधिकार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । यस कार्यक्रमा सहायक सिडिओ उपेन्द्र न्यौपानेले मानव अधिकारप्रति प्रतिबद्ध रहेको र त्यसका लागि मानव अधिकारमैत्री काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले महिला हिंसाविरुद्धको अभियान जनस्तरमा जागरुकता फैलाउने र महिला हिंसा न्युनिकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक रहेको बताउनु भयो । महिला हिंसा, यौन हिंसा, बलात्कार तथा घरेलु हिंसा लगायतका घटना छिटोछरितो तरिकाले कारवाही हुने गरी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका महिला तथा बालबालिका सेवा केन्द्रका सई भरत ठाकुरले बताउनु भयो ।
इन्सेक जिल्ला प्रतिनिधि अजयकुमार साहले जिल्लामा लैङ्गिकताको हिसावले घटनाहरूमा वृद्धि भएको देखिएकाले यसको न्युनिकरणका लागि ग्रामिण भेगको टोल टोलमा जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नु भयो,–“हामी सबैको उद्देश्य भनेको लैङ्गिकताको आधारमा महिलालाई मात्र होइन महिला, पुरूष, यौनिक तथा अल्पसङ्ख्यक लगायतक कसैलाई पनि विभेद, हिंसा नहोस् भन्ने चाहाना हो ।” थर्ड एलायन्सका प्रदेश संयोजक अर्जुन साहले मानव अधिकारको मर्म तथा भावनालाई आत्मसात गर्न सबै पक्ष र निकायसँग आग्रह गर्नु भयो । ओरेक नेपाल महोत्तरीका संयोजक लिला दियालीले महिला वस्तुको रुपमा प्रयोग गरिने चिज नभएको बताउँदै यो समाज र राज्यले पनि हरेक मानिसलाई समानान्तर व्यवहार गर्नु पर्ने बताउनु भयो ।
महिलाहरुमा आफु हिंसामा परेको कुरा बोल्नु पर्छ भन्ने ज्ञान शुन्य अवस्थामै रहेकाले उनीहरुलाई सशक्तिकरण गर्नु पर्ने आवश्यक्ता रहेको दियालीले बताउनुभयो ।
अजयकुमार साह
HUMAN RIGHTS NEWS PORTAL






