७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सडक नाटक तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

धनुषा। २०७९ मङ्सिर २५ गते

७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश, ओरेक, एड्भोकेसी फोरम, कायापलट, निल हिरा समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, एम्नेष्टि इन्टरनेशनल, महिला, बालबालिका सेवा केन्द्र, राष्ट्रिय अपाङ्ग महासंघ, जिल्ला युवा सञ्जाल, आफन्त नेपाल र उन्नत नेपाल लगायत संघ–संस्थाहरुले संयुक्त रुपमा मङ्सिर २४ गते अर्थात डिसेम्बर १० र २५ गते जनकपुरधाममा बालविवाहविरुद्ध सडक नाटक र दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । मङ्सिर २५ गते आयोजित कार्यक्रममा मधेश प्रदेशका गृह तथा संचार मन्त्रि भरतप्रसाद साहले मानवअधिकारको रक्षाका लागि सबै पक्षले आ–आफ्नो कर्तव्य एवं दायित्व इमानदारीपूर्वक पालना गर्नुपर्ने आवश्यक्तामा जोड दिनुभएको छ ।

“सबैको लागि मर्यादा, स्वतन्त्रता र न्याय” सम्बन्धी मूल नारासहित भएको कार्यक्रममा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मानव अधिकारको सवालमा प्रदेश सरकार गम्भीर एवं सजग भएको बताउनुभयो । उहाँले मानव अधिकारको मूलभूत मान्यता तथा सिद्धान्तको पालना गर्न सबै पक्षसँग प्रदेश सरकार हातेमालो गरी अघि बढ्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका मन्त्री साहले सत्य निरुपण तथा मेलमिलाप आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कतिको कार्यान्वयन भयो वा भएन त्यसको आत्मसमीक्षा गर्न जरुरी रहेको बताउनुभयो ।
प्रदेशसभा सांसद शारदा देवी थापाले मानव अधिकारको स्थापनाका लागि अधिकारसँगै कर्तव्यको ख्याल गर्न जरुरी रहेको बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित प्रदेश सभाका सदस्य रामअशिष यादवले मानव अधिकारको रक्षाका लागि मानव अधिकार रक्षाको अग्रपङ्क्ति रहने मानव अधिकारकर्मी तथा पत्रकारहरूको सुरक्षा आवश्यक भएको बताउनुभयो । जनकपुरधाम उपमानपाका उपप्रमुख किशोरी साहले मानव अधिकारको रक्षा बिना मुलुकको विकास तथा समृद्धिको चाहना पुरा गर्न कठिन हुने बताउँदै उपमानपाकालाई मानव अधिकारमैत्री नगर बनाउने पक्षमा आफू रहेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका मधेश प्रदेशका कार्यालय प्रमुख मञ्जु खतिवडाले मुलुकको समृद्धि र विकासका लागि मानव अधिकारको अवस्था राम्रो हुन जरुरी रहेको बताउनुभयो ।

दिपेन्द्र प्रसाद सिंह