७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस प्रभातफेरी कार्यक्रम गरि मनाइयो
कास्की । २०८० मङ्सिर २४ गते
७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैका लागि मर्यादा, समानता र न्याय भन्ने मूल नाराका साथ कास्कीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरि मनाइएको छ । गण्डकी प्रदेश सरकार, राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार महाभेला गण्डकी प्रदेशको सम्युक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम पोखराको मानव अधिकार चोक चिप्लेढुंगाबाट सुरु भएको प्रभातफेरी तथा र्याली सभागृह पुगेर सभामा परिणत भएको थियो । सभामा बोल्दै गण्डकी प्रदेश सरकारकी मुख्यसचिव लक्ष्मी कुमारी बस्नेतले गण्डकी प्रदेश सरकार मानव अधिकारको संरक्षण र प्रर्वद्धन गर्नको लागि प्रतिवद्ध रहेको जनाउदै मानव अधिकारको रक्षाका लागि सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा सामाजिक संघ संस्थाको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले पछिल्लो समय मुलुक भरिनै महिला र बालबालिका माथि हुने हिंसाका घटनामा वृद्धि भइरहेको परिवेशमा यस्ता घटना न्यूनीकरण गर्न पहल गर्ने बताउनुभयो । उहाँले महिला विरुद्धको सबै खाले हिंसाका विरुद्धमा एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निमित्त प्रमुख खिमलाल सुवेदीले राष्ट्रिय मानवअधिकार आयोगले समग्र मानवअधिकारको अवस्थाको अनुगमन गरिरहेको जानकारी गराउदै मानवअधिकारको संरक्षणमा राज्यले सन्तोषजनका भूमिका निर्वाह गर्न नसकेको गुनासो व्यक्त गर्नुभयो ।

मानव अधिकार महाभेला गण्डकी प्रदेशका संयोजक बिना शिलवालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मानवअधिकारको संरक्षणमा राज्य जिम्मेवार बन्नुपर्नेमा आम नागरिकले तेस्तो अनुभूति गर्न नपाएको गुनासो व्यक्त गर्नुभयो । कार्यक्रममा गैसस महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्काले मानव अधिकारको विषय सबैको साझा विषय भएकाले मानवअधिकारको संरक्षणको लागि सामाजिक संघ संस्थाहरु सरकार संग समन्वय र सहकार्यमा काम गर्न सधै तयार रहेको बताउनुभयो । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माले अपाङ्गता भएका क्षेत्रलाई राज्यले जति सम्बोधन गर्नुपर्ने हो सो अनुसार नगरेको गुनासो व्यक्त गर्नुभयो । पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पत्रकारीताले सधैं मानव अधिकारको रक्षाका लागि काम गर्ने गरेको सुनाउनुभयो । कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले इन्सेकले गरेको अनुगमनले गण्डकी प्रदेशमा महिला र बालबालिका माथि हुने हिंसाका घटना वृद्धि भएको जानकारी गराउदै यस्ता घटना न्यूनीकरण गर्नका लागि स्थानीय तहदेखि प्रदेश सरकारले समेत कार्यक्रम र बजेटमा वृद्धि गर्न अनुरोध गर्नुभयो । प्रभातफेरी कार्यक्रममा गण्डकी प्रदेश सरकारका राष्टसेवक कर्मचारीहरु, सुरक्षा निकाय, मानव अधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न संघ सस्थाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सन्जय रानाभाट
HUMAN RIGHTS NEWS PORTAL






