७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी समपन्न

सिरहा । २०८० मङ्सिर २४ गते

भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउदै लैजाऔं भन्ने मुल नाराका साथ ०८० मङ्सिर २४ गतेदेखि ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम गरी समपन्न भएको छ । लहान नगरपालिका, इन्सेक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मानव अधिकार रक्षक सञ्जाल, ओरेक, मुक्ति नेपाल, दलित जनकल्याण युवा कल्ब, समग्र जनउत्थान केन्द्र, जीवन ज्योति समाज, प्रदेश युवा सञ्जाल लगायत संघ संस्थाको आयोजनामा कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले मानव अधिकार सबैले जान्नु पर्ने र बुझ्नु पर्ने विषय भएको बताउनु भयो । अधिकार प्रयोग गर्नु पर्छ तर अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नहुने किसिमले प्रयोग गर्नु पर्ने बताउनु भयो । म तथा नगरपालिका मानव अधिकारको प्रत्याभुती हुने गरी काम गर्न सक्रिय भएको भन्दै चाडै लहान नगरपालिकामा सेफ हाउस बनाउने योजना ल्याउने बताउनु भयो ।

त्यस्तै, उप प्रमुख रामचलितर महतोले मानव अधिकारको प्रत्याभुती गराउन राज्य संवेदनशील हुनु पर्ने बताउनु भयो । मानव अधिकार उलङ्घनका घटनाहरू बढ्दै गएको र शिक्षित परिवारहरूमै घटनाहरू बढेकोले बाहिर आउन नसकेको बताउनु भयो । मानव अधिकार शिक्षाको लागि स्कुल, कलेजबाट अभियान थाल्नु पर्ने महतोले बताउनु भयो । त्यसैगरी, इलाका प्रशासन कार्यालय लहानका प्रमुख लिलाकान्त पौडेलले मानव अधिकारको व्यवस्था जन्मे देखिनै प्राप्त गर्ने व्यवस्था संविधानमै भएकोले अधिकार प्रयोग गर्न पाउनु पर्छ तर अधिकार प्रयोग गर्दा अरुको अधिकारको पनि ख्याल राख्नु पर्ने बताउनु भयो । मानव अधिकारका घटनाहरू बढे पनि डर त्रासका कारण उजुरी गर्ने संख्यामा कमी भएकोले उजुरी गर्न नडराए मात्र न्याय पाउन सकिने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेले नेपाल प्रहरी भनेको मानव अधिकार रक्षाको लागि खट्ने अग्र पङ्त्तिमा भएको संगठन भएकोले मानव अधिकारको प्रत्याभूती गराउन सजग रहेको बताउनु भयो ।

दुर्गा परियार