इएससिआर छायाँ प्रतिवेदन तयारी कार्यशाला सम्पन्न

मकवानपुर । २०८२ माघ २२ गते

इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छायाँ प्रतिवेदन तयारी कार्यशाला हेटौंडामा ०८२ माघ २२ गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक कार्यसमिति सदस्य डा. विद्या चापागाईंले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अन्तर्गत नेपालको तेस्रो आवधिक प्रतिवेदनमाथि सन् २०१४ मा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी समितिले जारी गरेका सिफारिस, नेपाल सरकारको चौथो आवधिक प्रतिवेदन, नागरिक समाजको चौथो आवधिक प्रतिवेदन, नागरिक समाजद्वारा प्रस्तुत गरिनुपर्ने मुख्य विषय तथा उदीयमान मुद्दाहरूबारे विस्तृत रूपमा प्रस्तुतीकरण गर्नुभयो ।

त्यसैगरी इन्सेक मानव अधिकार बहस पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठले अन्य ६ प्रदेशमा यस किसिमका कार्यक्रम सम्पन्न भइसकेको र बागमती प्रदेश अन्तिम प्रदेश रहेको जानकारी दिनुभयो। उहाँले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी आवधिक प्रतिवेदन, अधिकार अभिसन्धी परिचय, समिक्षा, अवलोकन तथा सिफारिसका विषयमा प्रस्तुतीकरण गर्नुभयो ।

बागमती प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतले आर्थिक र सामाजिक असमानताको समाधानका लागि प्राप्त सुझावहरुमा विशेष ध्यान पु¥याउन आवश्यक रहेको भन्दै महिलाहरुको आर्थिक रुपमा सबल नहुँदा उनीहरुले भोग्नु परेका समस्याहरु, बालबालिकाहरुको गुणस्तरीय शिक्षा सँग सम्बन्धीत सवालहरु र खाद्य अधिकारसँग सम्बन्धित सवालहरुको समाधानका लागि संविधान प्रदत्त शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको संरक्षानार्थ तीन तहका सरकार गम्भिर हुन आवश्यक रहेको बताउनु भयो ।

मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको कार्यान्वयनको अवस्था बारे अनुगमन गर्न, संयुक्त राष्ट्र संघको सम्बन्धित निकायहरूमा प्रतिवेदन प्रस्तुत गर्ने प्रक्रिया बारे जानकारी गराउन, महासन्धि अन्तर्गतका दायित्व पूरा गर्न सरकारलाई दबाब सिर्जना गर्न र सुझाव अनुमोदनका लागि पहल गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले बताउनु भयो ।

कार्यक्रममा सहभागीहरूले छुटेका तथा थप गर्नुपर्ने विषयहरूबारे सुझाव दिएका थिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका मानव अधिकार अधिकृत जागेश्वर चापागाईं, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्मा, प्रदेश बाल अधिकार समिति सदस्य झबिन्द्र ज्ञवाली र प्रकाश खतिवडा, गैरसरकारी संस्था महासंघ मकवानपुर जिल्ला अध्यक्ष रमिला सापकोटालगायत मानव अधिकार तथा सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो । 

मञ्जिता मैनाली