इन्सेकद्वारा मानव अधिकार रक्षक सञ्जाल गठन
दाङ । २०७७ फागुन १८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा घोराहीमा फागुन १८ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको संयोजकत्वमा रहेको मानव अधिकार सञ्जाललाई जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको रुपमा कार्य गर्न सक्नेगरी अनुमोदन गरिएको हो । सञ्जालको सचिववालय सदस्यमा इन्सेक जिल्ला प्रतिनिधि सदस्य सचिव रहने र सदस्यका रुपमा नागरिक समाज दाङ, नेपाल पत्रकार महासंघ दाङ, जिल्ला बार इकाई दाङ, खाद्य अधिकार सञ्जाल दाङ, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, मानव अधिकार जागरण मञ्च, अपाङ्ग मानव अधिकार सरोकार केन्द्र, ओरेक नेपाल र महिला मानव अधिकार रक्षक सञ्जाल रहने छन् ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जकी अधिकृत सरस्वति मल्लले सञ्जाल गठनको उद्देश्यमाथि प्रकास पार्दै नागरिक अधिकारका पक्षमा मानव अधिकारकर्मीहरूले जस्ता ेसुकै परिस्थितिमा पनि खबरदारी गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा उपस्थित अधिकारकर्मीहरूले सेवा प्रदायक निकायलाई मानव अधिकारप्रति जिम्मेवार बनाउदै र सेवाग्राहीलाई सचेत गराउनु पर्नेमा जोड दिए । संयोजक केशवकुमार शर्माले जिल्लामा राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका विषयमा राज्यकै निकायहरूले जिम्मेवारी बहन गर्न नसकेकोप्रति अधिकारकर्मीहरूको ध्यानाषर्कण भएको बताउनु भयो । कोभिड सङ्क्रमण होस् वा कोभिड विरूद्धको खोप वितरण लगायत जिल्लामा हुने विकास मानव अधिकारमैत्री नभएकोमा अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका थिए । महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्यले सरकारले गर्ने विकास मानव अधिकारमैत्री हुनुपर्ने भन्दै त्यसतर्फ सेवा प्रदायक निकाय नै गम्भीर हुनुपर्ने बताउनु भयो । जिल्ला बारका उपाध्यक्ष मौसम आचार्यले शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका विषयमा कसैको पनि चासो नभएको भन्दै अधिकारकर्मीहरूले त्यसतर्फ निरन्तर खवरदारी गर्नुपर्नेमा जोड दिनुभयो । नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले भौतिक तथा जनशक्ति अभावले चाहेको विद्यालयमा विद्यार्थी भर्ना हुन नपाउने अवस्थाको अन्त्य गर्न सबै तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
जयनारायण पुन
HUMAN RIGHTS NEWS PORTAL






