“प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुल नाराका साथ मङ्सिर ९ गतेदेखि सुरूआत भएको लैङ्गिक हिंंसाविरूद्धको १६ दिवसीय अभियानका क्रममा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर र बुढीगङ्गा गाउँपालिकाको आयोजनामा ०८२ मङ्सिर १३ गते प्रभातफेरी तथा कोणसभा कार्यक्रम सम्पन्न गरिएको छ ।
स्थानीय नरग्राम माध्यमिक विद्यालयबाट सुरू भएको प्रभातफेरीले नगर परिक्रममा गर्दै जनप्रिय माध्यमिक विद्यालय पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा इन्सेक कोशी प्रदेशका संयोजक मनोहरकुमार पोखरेले लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियानले मात्र नपुग्ने भएकाले वर्षभरी नै लैङ्गिक हिंसाविरूद्ध खबरदारी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मानव अधिकार र सामाजिक न्यायका निम्ति क्रियाशील इन्सेकले दिनप्रतिदिन मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरणसँगै लैङ्गिक हिंसाविरूद्धका लागि विगत तीन दशकयता पैरवी गर्दै आएको बताउनु भयो ।

कोणसभामा बुढीगङ्गा गाउँपालिकाका पूर्व अध्यक्ष बालचन्द्र माझीले बसोवासका आधारमा बुढीगङ्गा गाउँपालिकामा विविधता भएकाले यहाँ लैङ्गिक हिंसा न्यूनीकरण र त्यसका लागि १६ दिवसीय अभियानलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले समाजमा मिश्रित खाले वर्गको वसोवास भएकाले लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना कार्यक्रमलाई घरघरमा पुर्याउन आवश्यक भएको बताउनु भयो ।
कोणसभामा पूर्व एसपी विद्यानन्द माझीले लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियानका क्रममा बुढीगङ्गा गाउँपालिकामा सचेतना अभियान सञ्चालन हुनु निकै महत्वपूर्ण भएको बताउनु भयो ।
सो अवसरमा बुढीगङ्गा गाउँपालिकाकी महिला, बालबालिका विकास प्रमुख निश्चलता कार्कीले नेपाल सरकार र स्थानीय सरकारले लैङ्गिक हिंसा अन्त्यका लागि विभिन्न खाले सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले इन्सेकजस्ता सामाजिक संस्थाले सरकारले चलाएको अभियानलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेकोले महिला हिंसा अन्त्यको अभियानमा सामाजिक संघसंस्थाको भूमिका दिनप्रतिदिन बढ्दै गएको बताउनु भयो ।
प्रभातफेरी तथा कोणसभा कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिवक्ता, जनप्रतिनिधि, प्रहरी, पत्रकारलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






