डिसिएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षबाट सन् २०२५ मा २८ जना मानव अधिकार घटनाका पीडितहरुलाई आर्थिक सहयोग र न्यायका लागि पहल गरिएको छ ।
मानव अधिकार सहायता कक्षको ०८२ पुस १६ गते जनकपुरधाममा सम्पन्न भएको बैठकमा इन्सेक प्रदेश संयोजक राजु पासवानले एक वर्षमा मानव अधिकार घटनाका २८ जना पीडितलाई आर्थिक सहायोग र पीडितहरुको न्यायका लागि सम्बन्धित निकायमा पहल गरिएको जानकारी दिनु भयो ।
संरक्षण परियोजना अन्तर्गत यस वर्षको पीडितहरूलाई न्यायिक प्रक्रियामा सहयोग पुग्ने उद्देश्यले १० हजार रुपियाँका दरले सहायता गरिएको संयोजक पासवानले बताउनु भयो ।
पासवानले भन्नु भयो– “कतिपय पीडितहरूको मुद्दा अन्तिम फैसलाको चरणमा पुगेको भएपनि केही घटना अझै न्यायिक प्रक्रियामै रहेका छन् ।” गरीबी र आर्थिक अभावका कारण न्यायबाट वञ्चित हुन पर्ने बाध्यात्क अवस्थामा सहायता कक्षले निरन्तर सहयोग गर्दै आएको उहाँको भनाइ थियो ।

मानव अधिकार सहायता कक्षको बैठककको अध्यक्षता गर्दै अधिवक्ता राजकुमार महासेठले इन्सेकले आर्थिक रुपले कमजोर मानव अधिकार घटनाका पीडितलाई न्यायमा पहुँचका लागि इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत दिने गरेको आर्थिक सहयोग प्रशंसनीय कार्य रहेको भन्दै यसले पीडितहरूलाई न्यायिक प्रक्रियामा सहयोग पुगेको बताउनु भयो । मानव अधिकार संरक्षण र पीडितहरुको न्यायका लागि मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्था र सरोकारवालाहरू एकजुट भएर निरन्तर सहकार्य गर्नु पर्नेमा उहाँले जोड दिनु भएको थियो ।
बैठकमा प्रदेशमा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू, पीडितको अवस्था, कानुनी चुनौती तथा आगामी रणनीतिबारे छलफल भएको थियो । साथै पीडितहरूलाई उजुरी दर्ता, कानुनी प्रक्रिया अघि बढाउन, अदालतमा उपस्थित हुन तथा आवश्यक कागजात व्यवस्थापनमा सहायता कक्ष मार्फत गरिएको सहयोग बारे समीक्षा गरिएको थियो ।
बैठकमा निल हिरा समाजका प्रदेश संयोजक प्रदिप यादव, दलित पत्रकार संघ मधेस प्रदेशका अध्यक्ष कैलाश दास, माइती नेपाल धनुषाका संयोजक पुरुषोत्तम यादव, शान्ति पुनर्स्थापना केन्द्र धनुषाकी रिना झा, थर्ड एलायन्सका प्रदेश संयोजक अर्जुन साह, जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० की वडा सचिव जमुना भूजेल, कायापलटकी कार्यक्रम अधिकृत समिता कुमारी तामाङ, शान्तिका लागि साझा अभियान (कोक्याप) का प्रदेश संयोजक अर्जुनकुमार शाह, आसमान नेपालकी किरण यादव, मुक्ति नेपाल धनुषा र महोत्तरीका कार्यक्रम संयोजक विनोद महरा, मानव अधिकारका लागि एकल महिला समूह धनुषाकी अध्यक्ष सुभद्रा आले लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






